रवि प्याकुरेल/माघ २५ काठमाडौ । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नंवर १ बालकोटमा रागिनी आर्ट ग्यालरीसंगै रहेको एक कपास कारखानामा शनिवार राती भिषण आगलागी भएको छ ।
बालकोट कृष्ण सिलवालको झण्डै ५ रोपनी जग्गा भाडामा लिएर विगत ६ वर्षदेखि कपास कारखाना संचालन गर्दै आएका जिरी वडा नंवर ६ दोलखा घर भई बालकोट बस्ने जीतबहादुर खड्काले संचालन गरेको कपास कारखानामा राती आगलागी भएको हो ।
आगोलागी भए लगत्तै स्थानीय वासिन्दाले आगो नियन्त्रणको प्रयास गरेपनि असफल भएका थिए । आगोलागी भएलगत्तै खबर गरेपनि ४५ मिनेटपछि मात्रै दमकल आएको भन्दै स्थानीय केहीले आक्रोश व्यक्त गर्दै दमकललाई ढुङ्गा प्रहार समेत गरेका थिए ।
स्थानीयबासिन्दाले सम्झाएपछि दमकलले पौने १० बजेदेखि आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो । आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, काठमाडौ महानगरपालिकाको दमकल, ललितपुर उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले घण्टौं प्रयास गरेका थिए तर भक्तपुरको दमकल बिग्रेका कारण तत्काल आगो निभाउन समस्या परेको थियो ।
लोडसेडिङ्ग भएको बेलामा लागेको आगो अचानक फैलिएपछि झण्डै पाँच ट्रक कपास, कपास बनाउनका लागि ल्याईएको कपडा, कपास बनाउने मेशिन, लगायतका अन्य सामाग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । कारखाना संचालक खड्काले आगोलागीबाट १५ लाख रुपैयाको मेशिन, कपास, कपडा लगायतका सामाग्री गरि करिब ३३ लाख रुपैयाको क्षति भएको बताए ।
आगोलागीबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति रागिनी उपाध्यायको घरमा सामान्य क्षति पुगेको छ ।
दमकल दुर्घटना हुँदा १ जनाको मृत्यु
भक्तपुरको बालकोटमा शनिबार राती आगो निभाउन जाने क्रममा दमकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौंको महांकालबाट पानी भरेर लैजाँदै गर्दा अनियन्त्रित भएर कोटेश्वरको मुनिभैरवमा दमकल पल्टिँदा काठमाडौं नैकापका २३ वर्षिय रंजित श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निजामति अस्पताल मिनभवनमा मृत्यु भएको हो ।
श्रेष्ठ उपत्यका खानेपानी महाकांलमा कार्यरत थिए । दुर्घटनामा चालक सहित अरु ४ जना घाईते भएका छन । अन्य घाईतेहरुको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।