CA Prastabजनबोली/२६ माघ, काठमाडौ । नयाँ संविधानको पहिलो मस्यौदा निर्माणका लागि विवादीत विषयमा मतदानका लागि आवश्यक प्रश्नावली निर्माणको काम पुरा भएको छ । संविधानसभाको प्रस्ताव निर्माण विशेष समिति अन्तर्गतको प्रश्नावली उपसमितिले संघीयता सहित संविधानका अन्तरबस्तुमा रहेका विवादीत विषयमा प्रश्नावली तयार गरेको हो । उपसमितिबाट प्रस्तावित १ सय ९२ प्रश्नको सूचीलाई आज बस्ने समितिको बैठकले अनुमोदन गरेपछि प्रतिवेदनका रुपमा संविधानसभामा प्रस्तुत गरिनेछ । समितिको बैठक आज मध्यान्ह बोलाईएको छ ।

उपसमितिले ५ देखि १४ प्रदेश सम्मको प्रस्तावलाई छुट्टाछटै मतदान गराउनेगरी राज्यपुर्नसंरचना सम्बन्धी ७२ वटा प्रश्न तयार गरेको छ । ती प्रत्येक प्रस्तावमा सभासद्हरुले ध्वनी मतका आधारमा मत दिनेछन् । उपसमितिले नयाँ संविधानका प्रस्तावनामा ७, संविधान संशोधन सम्बन्धी ८, शासकीय स्वरुप सम्बन्धी ३७, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त सम्बन्धी २, न्याय प्रणाली सम्बन्धी ३१, ब्यवस्थापिकीय अंगको स्वरुप सम्बन्धी २१, संबैधानिक निकायको संरचना सम्बन्धी १४ तयार गरेको छ । उपसमितिले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेसीतालाई निर्विवाद विषय मानेर बाँकी विषयमा प्रश्नावली बनाएको हो ।

पाँच दिनका लागि थपिएको समितिको कार्यविधि पनि आजै सकिँदै छ । काम सुरु गरेका मितिले पाँच दिनमा काम सक्नेगरी माघ ११ मा प्रस्ताव समिति घोषणा भएपनि दलहरुबीच सहमति प्रयासका लागि समय उपलब्ध गराउन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ १७ मा मात्रै समितिको पहिलो बैठक राखेका थिए । गत बुधबारको पहिलो समय सीमा भित्र प्रश्नावली निर्माणको काम पुरा नभएपछि संविधानसभाको बैठकले प्रस्ताव समितिको कार्यावधि पाँच दिन थप गरेको थियो ।

सम्बन्धित खबरहरु