जनबोली/२६ माघ, काठमाडौ । नेपाल सेनाले दोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता जितेको छ ।
कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा भएको फाइनलमा सेनाले एपीएफ क्लबलाई २३–२० ले पराजित गर्दै उपाधि रक्षा ग-यो । सेनाका अमर श्रेष्ठले ८ गोल योगदान गरे ।
नेपाल टेलिकमको मुख्य प्रायोजनमा नेपाल ह्यान्डबल संघद्वारा शनिबार आयोजित प्रतियोगितामा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २४–१० ले हराउदै तेश्रो स्थानमा चित्त बुझायो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । आर्मीकै मदन चुनारा उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार जिते ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
चारदिने प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टिम, सेना र एपीएफ गरी ७ टिम सहभागी थिए । टेलिकमको ११ औं वार्षिकोत्सवका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।