जनबोली न्युज डेस्क, काठमाडौ । मध्य मेबाट नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ । जसअन्तरगत नेपालले आगामी दुई वर्षमा डिभिजन वानमा रहेका नेदरल्याण्ड, स्कटल्याण्डसहितका सात देशसँग खेल्नेछ ।
‘होम एण्ड अवे सिस्टम’ बाट खेल्ने भएकाले सात खेल नेपालले आयोजना गर्नुपर्ने हुन्छ ।
तर, केही करोड खर्च गरेर अन्तराष्ट्रिय स्तरको बनाउन सकिने एक मात्र क्रिकेट मैदान कीर्तिपुरमा कुनै पनि बेला भोटे ताल्चा लाग्न सक्छ ।
त्रिभुवन विश्वविद्यालयसँग भाडामा लिएको यो मैदानको भाडा झण्डै ३० लाख तीर्न बाँकी छ । पटक-पटक ताकेता गर्दा पनि नेपाल क्रिकेट संघ क्यानले पैसा नदिएपछि त्रिविले ताला लगाउने चेतावनी दिने गरेको छ ।
मन्त्री र सदस्य सचिवको जुहारी
विकास समितिको बैठकमा खेदकुदमन्त्री पौडेल र राखेप सदस्य सचिव युवराज लामाको जुहारी चल्यो ।
लामाले नेतृत्वमा राजनीतिक संकीर्णता देखिएको बताए । मन्त्रीलाई आफूलाई हटाउनैपर्ने र आफूलाई बस्ने पर्ने भन्ने देखिएको भन्दै उनले भने-मलाई पार्टीले नछाड भनेको छ । उहाँलाई हटाउनैपर्छ भनेको होला ।’
प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्त भएका लामालाई एमालेका पौडेल मन्त्री भएपछि हटाएका थिए । तर, सर्वोच्चले मन्त्रीको निर्णय रोक्न अन्तरिम आदेश दिए । सदस्य सचिव लामाले मन्त्री र आफ्नो विवादले राष्ट्रिय खेलकुद प्रतियोगिता र क्यानमा प्रत्यक्ष असर परेको बताए ।
छलफलमा खेलकुदमन्त्री पौडेल राखेप सदस्य सचिव युवराज लामा र क्यानको नेतृत्वप्रति खनिए । उनले क्यानले ५ करोड माग्दा आफूले २० करोड दिए पनि काम गर्न नसकेको दाबी गरे । काम गर्न नसकेपछि आफूले हटाउँदा अदालतले काखी च्यापेको उनको आरोप थियो ।
मुलपानी मैदानमा पनि राखेप र क्यानले काम नगरेको उनको आरोप थियो । उनले लामाप्रति व्यंग्य गर्दै भने-राष्ट्रिय खेलकुद परिषद् प्रधानमन्त्री भन्दा पनि माथि सर्वोच्च संस्था छ । तर, जिम्मेवारी लिएकाले काम गर्दैनन् ।’ खेलकुद मन्त्री पौडेलले कीर्तिपुर मैदान, होटलमा बसेकोदेखि टिकटसम्मको पैसा तिर्न नसकेको तथा आईसीसीले दिन्छु भनेको पैसासमेत ल्याउन नसकेकाले क्रिकेट संघमा परिर्वतन गर्नुपरेको बताए ।
माओवादी, कांग्रेस, एमालेको आरोप लगाए : पारस
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सबैले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताए । क्यानले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनले भने-गाडी चलाउन जानेको छैन । अनि प्लेन चलाउने कुरा छ । सोच ठूलो छ । तर, कार्यान्वयन गर्ने क्षमता छैन ।’
आफूहरुले खेलाडीहरुको आवाज उठाउँदा कहिले माओवादी, कहिले कांग्रेस त कहिले एमाले भएको आरोप लागेको उनको गुनासो थियो । उनले भने-हामी क्रिकेटको विकास होस् भन्न चाहन्छौं ।’
नेपालमा क्रिकेटको माहोल बनिसकेको भन्दै उनले नेपालसामू भारत, पाकिस्तान, श्रीलंका जस्तो क्रिकेटको स्थापित देश बन्ने मौका पाएको बताए ।
छलफलमा क्यानका सीईओ भावना घिमिरेले बोर्डले आफूलाई कुनै अधिकार नदिएको गुनासो गरिन् ।
विकास समितिले भन्यो-मैदान बनाउ
छलफलपछि विकास समितिले तत्काल क्रिकेट मैदानका लागि आवश्यक बजेट दिन अर्थ मन्त्रालयलाई र खर्च गर्ने क्षमता विकास गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । साथै क्रिकेट विकासको गुरुयोजना बनाउन पनि समितिले भनेको सभापति रवीन्द्र अधिकारीले बताए ।