विश्वकप क्रिकेट २०१५ अन्तर्गत पहिलो अभ्यास खेलमा अस्ट्रेलियाले भारतलाई १ सय ६ रनले पराजित गरेको छ। ३ सय ७२ रनको चुनौती पछ्याएको भारतले ४६ औँ ओभरमा अलआउट हुँदै २ सय ६५ रन मात्र बनाउन सक्यो।
अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९ औँ ओभरमा अलआउट हुँदै ३ सय ७१ रन बनाएको थियो। अस्ट्रेलियाका लागि डेविड वार्नर र ग्लेन म्याक्सवेलले शतकीय पारी खेलेका थिए। ओपनर वार्नरले १ सय ४ रन बनाएका थिए भने म्याक्सवेल १ सय २२ रनमा रिटायर्ड हर्ट भएका थिए। विस्फोटक ब्याटिङ गरेका म्याक्सवेलले ५७ रन बल खेल्दै ११ चौका र ८ छक्का प्रहार गरेका थिए। भारतका लागि मोहम्मद सामीले सर्वाधिक तीन विकेट लिए भने उमेश यादव र मोहित शर्माले २/२ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा आएको भारतले राम्रो सुरुवात गर्न सकेन। ओपनर रोहित शर्मा मात्र ८ रन जोड्दै आउट भएका थिए। भारतका लागि शिखर धवन, अजिन्का रहाने र अम्बाती रायडुले अर्धशतक बनाएका थिए।