श्रीमान् हाजिर गरिदिने, श्रीमती तलब बुझ्ने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २७ माघ, २०७१

२७ माघ, काभ्रे । डाँडापारिस्थित गोकुले गाविसमा रहेको स्वास्थ्य चौकीका इन्चार्जले श्रीमतीको नाममा किर्ते हाजिरी गरी तलब बुझ्दै आएको पाइएको छ । स्वास्थ्य चौकीका इन्चार्ज कृष्णहरि श्रेष्ठकी श्रीमती ललिता सोही कार्यालयमा अनमी छिन् । एक वर्षदेखि श्रीमतीको हाजिरी श्रेष्ठ आफैंले गरेर तलब बुझ्दै आएको स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष लालबहादुर घिसिङले बताए । ‘हालसम्म जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलबाट निःशुल्क रुपमा प्राप्त भएको औषधि आफूखुसी प्रयोग गर्ने, समितिलाई कुनै जानकारी नगराउने, आर्थिक पारदर्शिता नदेखाउने काम भइरहेका छन्,’ घिसिङले भने । उनका अनुसार श्रेष्ठ अधिकांश समय गाविस भवन अगाडि रहेको आफ्नो निजी क्लिनिकमा बस्ने गरेको नयाँ पत्रिकामा खबर छ ।

अनमी ललिता एक वर्षदेखि स्वास्थ्य चौकीमा देखासमेत परेकी छैनन् । तर, उनको नाममा हाजिर गरेको देखिन्छ । स्थानीयले श्रेष्ठ दम्पतीविरुद्ध जनस्वास्थ्य कार्यालयमा उजुरी हाल्ने तयारी गरेको व्यवस्थापन समितिका एक सदस्यले बताएका छन् ।

सम्बन्धित खबरहरु