जनबोली/२७ माघ, काठमाडौं । नयाँ संविधान निर्माणका विवादित मुद्दालाई प्रक्रियामा जाने भईरहेको बेला एमाओवादीका प्रमुख दुई नेतामै फरक मतभेद देखिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई संविधान निर्माण र संवाद प्रक्रियाबारे अलग–अलग दिशामा लागेको उनीहरुका अभिव्यक्तिले देखाइरहेका छन् । नेता भट्टराई आन्दोलन मार्फत नै को मार्गमा लागि परेका छन् भने अध्यक्ष दाहाल सहमतिमा मिल्न जाने सम्म कुरामा अडिग छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले वार्ता आह्वान गर्नासाथ पूर्वको आन्दोलन कमान्ड सम्हालेका दाहाल राजधानी फर्किएका छन् भने भट्टराई फोस्रो वार्ताको औचित्य छैन भन्दै पश्चिमतिरै बढेका छन् । सत्तारुढ कांग्रेस र एमाले बहुमतीय प्रक्रियामार्फत संविधान निर्माणमा अघि बढेपछि त्यसविरुद्ध आन्दोलनमा होमिएको एमाओवादीभित्र संविधानका विवादमा पनि फरक–फरक बुझाइ प्रकट भइरहेका छन् ।
माघ ११ मा संविधानसभाले सत्तापक्षको चाहनाअनुसार प्रश्नावली समिति गठन गरेर संविधान निर्माणलाई प्रक्रियामार्फत अघि बढाएपछि एमाओवादी केन्द्रीय समितिले आन्दोलन घोषणा गर्यो र सोहीअनुसार नेतृत्वको जिम्मेवारी बोकेर पूर्वी क्षेत्र गएका दाहाल आइतबार प्रधानमन्त्रीको वार्ता आह्वान लगत्तै आन्दोलनको तयारी छाडेर राजधानी फर्केका छन् । पश्चिम कमान्डको जिम्मा लिएर त्यतै लागेका केन्द्रीय सदस्य बाबुराम भट्टराईलाई भने वार्ता आह्वानलाई कुनै महत्व दिएका छैनन् ।