prerana-shah-207x300काठमाडौं । आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी सिंह न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन् ।

विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको छ । प्रेरणा ज्ञानेन्द्रकी एकमात्र छोरी हुन् । उनको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो ।

विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी एक आना जग्गा दाइजो बकस दिएको तर सरकारले जबरजस्ती ट्रस्टमा राखेको दाबी प्रेरणाको छ ।

कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौं महानगरपालिका–१३ छाउनीमा छ । अर्बौं रुपैयाँ पर्ने उक्त घरजग्गाको क्षेत्रफल ०७६६४.६० वर्गमिटर छ ।

‘मेरो हकभोगको दाइजो बकसको सम्पत्ति मेरो जानकारी एवं मञ्जुरीबिना अनाहकमा अपहरण हुने गरी ट्रस्टमा राखेकाले संवैधानिक एवं कानुनी हकमा आघात पुग्न गएको छ’, प्रेरणाले सर्वोच्चमा सोमबार दर्ता गरेको रिट निवेदनमा उल्लेख गरेकी छन्, ‘त्यस्तो अनाधिकृत, स्वेच्छाचारीपूर्ण एवं गैरकानुनी निर्णय बदर गराई न्याय माग्ने अन्य प्रभावकारी वैकल्पिक उपचार अभाव भएको हुँदा सम्मानित अदालतसमक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ बमोजिम यो निवेदन गरेकी छु।’

एकलौटी हकभोग हुने गरी दाइजो दिएको व्यहोरा उल्लेख गर्दै तत्कालीन श्री ५ महाराजधिराजका प्रमुख राजदरबार पदाधिकारीले २०६२ साल जेठ १० गते राजकीय सम्पत्ति कोष विभाग, राजदरबार तथा ढुकुटी विभाग (राजदरबार) लाई लेखेको पत्रससहितका कागज प्रमाण रिटसँगै पेस भएको छ ।

आफूसँग नसोधी सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत घरजग्गा ट्रस्टमा ल्याउने निर्णय गरेकाले बदर गर्न उनको माग छ । सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरुप उक्त जग्गा ट्रस्टमा राखेको हो । अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु