प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलन
प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलन

२७ माघ, विराटनगर । विराटनगरको सहिद रंगशालामा विहीबारदेखि सुरु हुने मोफसलकै सर्वाधिक धनराशीको विराट गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । उदघाटन खेलमा रुपन्देही ११ ले घरेलु टोली मोरङ ११ को सामना गर्ने छ ।

आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष राजेन्द्र राउतले प्रतियोगिताका लागि सुरक्षा, खेल मैदानको व्यवस्थापन टिमको सम्झौता लगायतका सबै काम पूरा भएको मंगलबार जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । विभागीय त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्रको एपीएफ क्लबसहित ‘ए’ डिभिजनका मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले प्रतियोगितामा भाग लिएका छन् । यस्तै मोरङ ११, झापा ११, रुपदेन्ही ११ र भारतका युनाइटेड सिक्किम र जर्ज टेलिग्राफ कलकत्ताको सहभागिता रहने छ ।

रित्तो हात फर्किन नपर्ने

विजेताले पाँच लाख एक हजार र उपविजेताले तीन लाख एक हजार पुरस्कार पाउने छन् । आयोजक समितिका अनुसार पहिलोपटक प्रतियोगिताबाट बाहिरिनेलाई समेत प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

BIRAT-GOLDCUP-235x300अध्यक्ष राउतले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणबाट बाहिरिनेलाई तीस हजार, दोश्रो चरणबाट बाहिरिनेलाई ७५ हजार र तेश्रो चरणबाट बाहिरिनेलाई १ लाख नगद दिइने छ ।

‘प्रतियोगितामा भाग लिने कुनै पनि टिमलाई रित्तो हात हामी फर्काउदैनौं,’ अध्यक्ष राउतले भने, ‘प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरेका छौं ।’

खेल अवधिभर उत्कृष्ट टिम, खेलाडी प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि ६० प्रतिशत प्रायोजक र ४० प्रतिशत टिकट बिक्रीबाट खर्च उठाउने आयोजको लक्ष्य छ ।

७ हजार दर्शक क्षमताको स्थानीय शहिद रंगशालामा हुने प्रतियोगिताभर ६ हजार ५ सय टिकट बिक्री हुने अनुमान गरिएको छ ।

०१८ सालमा ‘महेन्द्र गोल्डकप’को नामबाट प्रतियोगिता सुरु भएको थियो । पछि यसलाई ‘विराट गोल्डकप’ नामाकरण गरिएको हो ।

सम्बन्धित खबरहरु