२७ माघ, काठमाडौं । महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
एपीएफले मंगलबार पुल्चोक मैदानमा भएको खेलमा क्षेत्र नम्बर २ वीरगञ्जलाई ८ विकेटले पराजित गरेको छ ।
वीरगञ्जले प्रस्तुत गरेको ८० रनको लक्ष्य एपीएफले ९.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि सीता राना मगर र ज्योती पाण्डेले समान ३१ रन बनाइन् ।
यसअघि पहिले व्याटिङ गरेको वीरगञ्जले ४० ओभरमा ७ विकेट गुमाएर ७९ रन बनाएको थियो । उसका लागि निशा गिरीले अविजित २४ रन बनाइन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा विनु बुढामगरले २ विकेट लिइन् भन् रुविना क्षेत्री, रीतु कनोजिया, सरिता मगर र करुणा भण्डारीले १-१ विकेट लिइन् । सीता प्लेयर अफ दि म्याच बनिन् ।
भैरहवाको पहिलो जित
अर्को खेलमा क्षेत्र नम्बर ४ भैरहवाले क्षेत्र नम्बर ६ वैतडीलाई ७ विकेटले पराजित गरेको छ ।
वैतडीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य भैरहवाले ३५.१ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसका लागि इन्दु बर्माले अविजित ४५ रन बनाइन् । मेलिना थापाले २४ र नितु भण्डारीले २२ रन बनाइन् ।
यसअघि पहिले ब्याटिङ गरेको बैतढीले ३४ ओभरमा ११७ रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका लागि अन्जली चन्दले ३५ र अविता कुँवरले २६ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमन चल्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा सरस्वती पुनले ४ विकेट लिइन् । ७ ओभर बलिङ गरेकी उनले ती मेडन राख्दै २० रन दिइन् ।
इन्दु बर्मा र सीमा थापाले समान २-२ विकेट लिइन् भने एक विकेट कृति सेनको नाममा रहृयो । खेलमा इन्दु प्लेयर अफ दि म्याच बनिन् ।
मंगलबारको खेलपछि एपीएफ ४ अंकका साथ समूह एको शीर्ष स्थानमा छ भने समान खेल खेलेको भैरहवा २ अंकका साथ दोस्रो स्थानमा छ । पोखरा र बैतडीले एक-एक खेल गुमाएका छन् भने वीरगञ्जले दुबै खेल गुमाएको छ ।