8c8111504bf4e4b6fe5466afac8b05c3_L

जनबोली/२८ माघ, काठमाडौं । नेपालमा धर्म परिवर्तनको अधिकार संविधानमै सुनिश्चित गर्न सभासदहरुलाई सुझाव दिएपछि विवादमा परेका नेपालका लागि बेलायतका राजदूत एन्ड्र्यू जेम्स स्पाक्र्सले नेपालबाट फिर्ता हुने भएका छन् । विवादमा आएपछि उनले अन्ततः बेलायती परराष्ट्र मन्त्रालयको जागिरबाटै राजीनामा दिएका छन् ।

उनले अर्को महिना आफ्नो कार्यभार पूरा गर्ने जानकारी नेपाल सरकारलाई समेत दिइसकेका छन् ।
स्पाक्र्सले बेलायत सरकारको परराष्ट्र सेवाबाटै राजीनामा दिएका अन्र्तराष्ट्रिय समाचार एजेन्सिले जनाएका छन् । ३० वर्ष लामो जागिरे जीवनमा तीन मूलुकको राजदूत पदको जिम्मेवारी सम्हालेका स्पाक्र्सले सेवाबाट अवकास लिने व्यक्तिगत निर्णय गरेको दूतावासले जनाएको छ ।

‘उहाँले सरकारी सेवा बाहिरका अन्य अवसरहरुमाथि समय दिन चाहानु भएको छ’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘राजदूतका रुपमा मैले नेपाल छाडिरहेको भए पनि मैले सदाका लागि गुडवाई भनेको पक्कै होइन । म यो देशका जनताको सफलता र सम्पन्नताको कामना गर्छु’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सचिव शंकर बैरागीसँगको भेटपछि राजदूतले भनेका छन् ।

नेपाल र बेलायतबीचको बिशेष सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा गरिने उत्सवमा व्यक्तिगतरुपमा आफ्नो भूमिका निर्वाह गर्ने उनले आशा व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु