२९ माघ, काठमाडौं । आन्दोलन घोषणा गरेर देशदौडाहमा हिँडेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका नेताहरु राजधानी फर्किएर सत्तापक्षसँग भित्रभित्रै वार्तामा लागेका छन् ।
दाहालले प्रधानमन्त्री सुशील कोइरालाका प्रतिनिधिका रुपमा कानुनमन्त्री नरहरि आचार्यसँग बुधबार दिउँसो कुरा गरे । मधेसी नेता विजय गच्छदार कहिले प्रधानमन्त्री त कहिले दाहालसँग आन्तरिक वार्ताका लागि समन्वय गर्न सक्रिय छन् ।
सत्तासीन दलका नेतासँग एमाओवादी नेताले संविधानसभाको प्रक्रिया रोक्न नसके पनि स्थगन गरेर वार्ताको वातावरण बनाउन आग्रह गर्दै आएका छन् । एमाओवादी अध्यक्ष दाहालले आचार्यसँग पनि तत्काल प्रक्रिया स्थगन भएको भन्ने आसयको लिखित वक्तव्य प्रधानमन्त्रीले जारी गरे वार्तामा बस्न सकिने धारणा राखेका थिए।
प्रधानमन्त्रीको सन्देश लिएर दाहालनिवास लाजिम्पाट पुगेका आचार्यले आन्दोलन छाडेर वार्तामा बस्न आग्रह गर्दा दाहालको सो धारणा आएको हो । ‘एमाओवादीसँग कुराकानी भइरहेको छ’, आचार्यले अन्नपूर्णसँग भने, ‘मिलाउने र सम्याउने काम बाँकी छ ।’
एमाओवादीसहितका विपक्षीले यसअघि प्रधानमन्त्रीले जारी गरेको वार्ताको लिखित आव्हान सच्चाएर संविधानसभाको प्रक्रिया स्थगनलगायत विगतमा भएका सहमतिअनुसार संविधान निर्माण गर्ने प्रतिबद्धता गरे वार्तामा बस्न तयार हुने सन्देश प्रधानमन्त्रीलाई पठाइसकेका छन् । गच्छेदारले भने, ‘प्रक्रिया स्थगन भए वार्ताको वातावरण बन्छ ।’ आजको अन्नपूर्णमा समाचार छ ।