काठमाडौं । एमडी पढ्ने आसमा जनमैत्री अस्पताल बालाजुमा कार्यरत डा.मनोजकुमार साह ठगिएका छन् । वीर अस्पतालमा एमडी पढ्न मिलाइदिनेमा प्रलोभनमा पारी ठगहरुले उनीसित ६० लाख रुपैयाँ लिएका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले साहलाई ठगी गरेको आरोपमा वीर अस्पतालका अहेव तथा वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरी, टेकु रायमाझी, ट्रेडर्सका मेडिसिन प्रतिनिधि रवि पौडेल र महाराजगञ्जका राजेश कहरलाई पक्राउ गरेको छ ।
सप्तरी सित्रियौनका साहले पौडेललाई विभिन्न मितिमा ६० लाख रुपैयाँ बुझाएका थिए । पौडेलले ‘तपाईं सरकारी कोटामा एमडी पढ्ने हो भने हामी मिलाइदिन्छौं’ भन्दै साहलाई लोभ देखाएका थिए ।
पौडेलले ६० लाख रुपैयाँ लाग्छ भनेपछि साहले पैसाको जोहो गरेका थिए । पौडेलले पैसा पाउने पक्का भएपछि कहरसँग सम्पर्क गरेका थिए ।
कहरले वीरका अहेव मुडभरीसँग सम्पर्क गरी ‘पैसा आउने भयो, अब काम थालौं’ भन्दै पटपटक भेटेको महाशाखाले जनाएको छ । पौडेललगायतले वीर अस्पतालको नक्कली माइन्युटसमेत खडा गरी साहलाई देखाएका थिए ।
माइन्युट गरेको पानामा २०७० भदौ ५ गते बसेको विशेष एमडीमा डा. मनोजकुमार साहको निवेदन पेस हुन आएकोमा कमिटीको निर्णयअनुसार सार्क कोटामा भर्ना लिन मिल्ने निर्णय गरिन्छ’ भन्दै बेनामी हस्ताक्षर गरिएको उल्लेख छ । त्यस्तै वीर अस्पतालमै पढ्न पोस्टिङ भएको कार्डसमेत साहलाई गिरोहले उपलब्ध गराएको थियो ।
गिरोहले उनलाई दिएको वीर अस्पतालको माइन्युट र पोस्टिङ कार्ड नक्कली भएको पुष्टि भएपछि साहले आफू ठगिएको थाहा पाए । कहरले आफूलाई ‘राष्ट्रिय अनुसन्धानको पुलिस हुँ’ भन्दै चिनाएको साहले बताए । आजको अन्नपूर्णमा समाचार छ ।