Sambidhansabha

जनबोली /काठमाडौं २९ माघ । संविधान सभाको बैठक आज बस्दै छ । प्रश्नावली समितिले बनाएको प्रश्नावलीसहितको प्रतिवेदन आज संविधानसभा प्रस्तुत गरिने भएको छ । विवादित विषयलाई मतदानमा लगेर टुंग्याउने उद्देश्यले माघ ११ गतेको संविधानसभाले प्रस्ताव गरेको प्रश्नावली प्रस्ताव समितिले प्रश्नावली तयार गरेको छ ।

विवादित विषयको टुंगो लगाउन प्रश्नावली बनाइए पनि प्रक्रियाप्रति नै असन्तुष्टी जनाउँदै एकीकृत नेकपा माओवादीसहितका दलहरु भने विरोध गर्दै आन्दोलनमा छन् ।

आज बैठकमा प्रश्नावली पेश भएपछि सभासदहरुलाई बाँडेर अध्ययनका लागि १० दिनलाई संविधानसभाको बैठक स्थगित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । संविधानसभाको बैठक दिउँसो १ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्दैछ ।

यसैबीच प्रश्नावली प्रस्ताव समिति गठनदेखि नै विरोध गर्दै आएको एकीकृत नेकपा माओवादीसहितका विपक्षी दल तथा राप्रपा नेपालले संविधानसभाको बैठक बहिष्कार गर्ने भएको छ ।

विपक्षी मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले आफूहरुको पूर्व निर्णयअनुसार नै आजको बैठकमा नजाने बताउनुभयो । विपक्षी मोर्चाले सत्तापक्षले जबरजस्ती प्रक्रियामार्फत संविधान बनाउन लागेको भन्दै प्रश्नावली निर्माणप्रति पनि असहमति जनाउँदै आएको छ ।

यस्तै राप्रपा नेपालले पनि आजको बैठक बहिष्कार गर्ने भएको छ । राप्रपा नेपालले चौथो ठूलो दलको सैद्धान्तिक अवधारणालाई अवज्ञा गर्दै धर्म निरपेक्षलगायतका केही विषयमा प्रश्नावली नबनाएको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु