माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखा जिल्लाबासी र आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरुका लागि शेयर निश्काशनको आब्हान पत्र जारी गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म उनीहरुका लागि शेयर निश्काशन गर्दैछ ।
आयोजनाले तीन करोड ६० लाख ६ हजार कित्ता शेयर दोलखा जिल्लाबासी र कर्मचारीहरुका लागि जारी गर्न लागेको हो । नेपालको पँुजी बजारको ईतिहासमा यो नै सबैभन्दा ठूलो सार्वजनिक शेयर निश्काशन मानिएको छ ।
आयोजनाले दोलखा जिल्लाबासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता, कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने संचयकर्ताहरुका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता र आयोजनामा ऋण लगानी गर्ने नागरिक लगानी कोषका कर्मचारीहरुका लागि तीन लाख चार हजार ९९२ कित्ता, कर्मचारी संचय कोषका कर्मचारीहरुले १५ लाख २४ हजार ९६० कित्ता, नेपाल दुर संचार कम्पनीका कर्मचारीहरुका लागि नौ लाख १४ हजार, राष्ट्रिय बीमा संस्थानका कर्मचारीका लागि तीन लाख चार हजार ९१२ कित्ता र नेपाल बिद्युत प्रधिकरणका कर्मचारीहरुका लागि ४० लाख ६६ हजार ५६० कित्ता छुट्याईएको छ । कम्पनीको शेयर पूँजी ९ अर्ब १५ लाख रुपैयाँ रहेको छ ।
यसमा भिन्दाभिन्दै रुपमा बर्गीकरण गरी शेयर आबेदन गर्न पाउने सीमा तोकिएको छ । सबै समूहकाले न्युनतम ५० कित्ताका लागि आबेदन गर्न पाए पनि अधिकतम सीमा भने फरक गरिएको छ । दोलखा जिल्लाबासीले जम्मा ७० कित्तासम्मका लागि मात्र आबेदन गर्न पाउँछन् भने आयोजना अति प्रभावित लामाबगर र गौरीशंकर गाउँ विकास समितिका बासिन्दाले तीनसय कित्तासम्मका लागि आबेदन गर्न पाउने भएका छन् । तर नागरिक लगानी कोष, कर्मचारी संचय कोष, विद्युत प्राधिकरण, बीमा संस्थान, नेपाल टेलिकमकाले भने पाँच हजार कित्तासम्म आबेदन गर्न पाउने भएका छन् । यस प्रकारको बांडफाँड भेदभावपूर्ण भएको भन्दै अदालतमा मुद्दा परे पनि अन्त्यमा उजुरी गर्नेको केही लागेन ।
कसरी आबेदन गर्ने ?
यसमा आबेदन गर्न योग्यता पुगेकाहरुले प्रति कित्ता १०० रुपैयाँका दरले रकम जम्मा गरी नागरिक लगानी कोष, एनसीम मर्चेन्ट बैंकिङ लिमिटेड कमलपोखरी र राष्ट्रिय बाणिज्य बैंकका देशभरिका शाखाहरुमा आबेदन पत्र बुझाउँन सक्ने भएका छन् । जिल्लाबासीको हकमा चरिकोट, सिंगटी र जिरी संकलन केन्द्रहरुमा निश्काशन तथा बिक्री प्रबन्धकहरुले बुझ्ने ब्यवस्था मिलाईएको छ । जिल्लाबासी आबेदकहरुको नाम हालै संकलन गरिएको जनसंख्या तथ्याँकमा समाबेश भएको हुनुपर्ने, जिल्लाबाट नागरिकता लिएको हुनुपर्ने र आयोजना सुरु हुनुभन्दा २०६४ माघ १५ अघि बसाई सरी आएको हुनुपर्ने अनिवार्य ब्यवस्था गरिएकोे छ । नेपाल टेलिकम र विद्युत प्राधिकरणका कर्मचारीहरुले भने नागरिक लगानी कोष, एनसीएम मर्चेन्ट बैंकिङको कार्यालय, सिद्दार्थ बिकास बैंकको कार्यालय, बुटवल, भैरहवा, घनगढी, नेपालगंज यति बिकास बैंकको हेटौडा, पोखरा, बीरगंज, बिराटलक्ष्मी बिकास बैंक बिराटनगर र सहयोगी बिकास बैंकको कायाृलय जनकपुरबाट मात्र बुझ्ने ब्यवस्था मिलाईएको आब्हान पत्रमा उल्लेख छ ।
शेयर हाल्ने पैसा नभएकालाई पनि ब्यवस्था
जिल्लाबासीका लागि छुट्याईएको शेयरमा लगानी गर्ने रकम नभएपनि चिन्ता लिनु नपर्ने भएको छ । जिल्लाबासीलाई कम्तिमा ७० कित्ता शेयर अनिवार्य रुपमा पर्नुपर्ने परिस्थिति सिर्जना गर्दै दोलखाका स्थानीय बैंक र सहकारीहरुले सहज रुपमा ऋण दिने ब्यवस्था गरेका छन् । आबेदनकसँग कुनै धितो नभए पनि शेयर आबेदन रसिदलाई नै धितो मानेर उनीहरुले ऋण प्रबाह गर्ने भएका छन् । सम्बन्धित ऋणीले ऋण चुक्ता नगरेसम्म शेयर आबेदन गरेको निस्सा र शेयर प्रमाणपत्र उनीहरुले नै राख्ने छन् । ऋणको सावाँ ब्याज नतिरेमा भने सम्बन्धित संस्थाले नै शेयर सकारी ऋण असुली गर्ने भएको छ । आबेदकहरुका लागि बैंक खाता अनिवार्य भएकाले ग्रामिण जिल्लाबासीका लागि खाता खोल्न भने समस्या हुनसक्ने देखिएको छ ।
शेयर किन्दा के फाईदा ?
यो शेयर तीन बर्षसम्म बिक्री गर्न बन्देज लगाईएको छ । ४५६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको यो शेयरले अधिकतम मूल्य प्राप्त गर्ने हुँदा आबेदकहरुलाई भविष्यमा निकै लाभ प्राप्त हुने देखिएको छ । नेपालको आर्थिक बिकासमा जलविद्युतले महत्वपूर्ण भुमिका खेल्ने भएकाले कम्तिमा पाँच बर्षपछि यसको शेयर मूल्य पाँच हजार रुपैयाँ नाघ्नसक्ने विश्लेषण गरिएको छ । स्वदेशी पूँजी, शीप र क्षमता प्रयोग गरी निर्माण भएको यस आयोजनाले लगानीकर्तालाई दीर्घकालसम्म प्रतिफल दिईरहने छ । नेपाल विद्युत प्राधिकरणको ४१ प््रतिशत स्वामित्वमा रहेको आयोजनामा सर्वसाधारण लगानीकर्ताको पहुँच बढेपछि आयोजना झन् सबल हुने अपेक्षा गरिएको छ ।
लामाबगरमा मूख्य केन्द्र रहेको आयोजनाको काम हाल २१ प्रतिशत सम्पन्न भईसकेको छ भने आयोजनाले २०७३ साउनबाट विजुली उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाको लागत ३६ अर्ब रहेकोमा हालसम्म २१ ऋर्ब खर्च भईसकेको छ । शेयरबाट उठेको रकम सोही आयोजना पुरा गर्न खर्च गरिने भएको छ ।
कति रकम संकलन होला ?
गाउँ गाउँमा समेत तामाकोशीको शेयरमा लगानी गर्ने उत्साह देखिएकाले यस क्रममा ठूलो रकम संकलन हुने अपेक्षा गरिएको छ । शेयरमा लगानीकै कारण कतिपय बैंक र सहकारीमा आर्थिक संकट आउनसक्ने र बाहिरी जिल्लाबाट ऋण लिनुपर्ने देखिएको छ । जिल्लाबासीले शेयरमा लगानी गर्न भन्दै दशै अगाडिदेखि नै रकमको जोहो गर्दै आएका छन् । हालै संकलित तथ्याँक अनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ५८ रहेको छ । उनीहरुले प्रति ब्यक्ति ७० कित्ताका लागि आबेदन गरेमा दुई अर्ब रकम दोलखा जिल्लामा मात्रै संकलन हुने भएको छ ।
देशभरिका जनताका लागि चाँही शेयर कहिले ?
जिल्लाबासी र लगानीकर्ता कम्पनीका कर्मचारीका लागि निश्काशन गरिएको शेयर बिक्री प्रक्रिया पुरा भएपछि देशभरिका सर्वसाधारणका लागि यस कम्पनीको शेयर निश्काशन हुने भएको छ । जिल्लाबासी र लगानीकर्ता कम्पनीहरुका लागि निश्काशन गरिएको शेयर नबिकेमा देशभरिका सर्वसाधारणले किन्न पाउने छन् । देशभरिका सर्वसाधारणले माथिल्लो तामाकोशीको शेयरमा आबेदन गर्न आगामी बैसाखसम्म कुनुपर्ने देखिएको छ ।