धनवीर महतो

महोत्तरी, १७ मङ्सिर । महोत्तरी खयरमारा–५ की ५५ वर्षीया सुकमाया अछामेलाई आफ्ना नाबालिक नातिनातिनीको भविष्यको चिन्ताले सताएको छ । करिब ५ वर्षदेखि छोराछोरी लिएर माइतीको सहारामा बस्दै आएकी ३५ वर्षीया छोरी रेणुका मगरातीसँग नागरिकता, विवाह दर्ता नभएको कारण उनका तीन नाति तथा एक नातिनीको जन्मदर्ता बन्न सकेको छैन ।

यसका कारण ती अबोध बालबालिकाको शिक्षादीक्षालगायत अन्य प्रशासनिक कामकाज गराउन कठिनाइ भएको ५५ वर्षीया सुकमायाले बताइन् ।

विसं २०५९ मा सर्लाही बरहथवाका राजन मगरातीसँग सामाजिक परम्पराअनुसार छोरी रेणुकाको विवाह सम्पन्न भएको थियो । करिब ५ वर्षअगाडि ज्वाइँको मृत्यु भएपछि ३५ वर्षीया छोरी रेणुका मगरातीसहित बालबालिकाको भरणपोषण जिम्मेवारी आफूमाथि थपिएको उनले बताइन् । सुकमायाले १२ वर्षीया नातिनी एलिसा मगराती, १० वर्षीय जुम्ल्याहा नाति अनिश र मनिष तथा ४ वर्षीय नाति धनिशको पालनपोषण गर्दै आएकी छिन् ।

एलिसा कक्षा ४ मा अध्ययनरत छिन् भने अनिश र मनिष कक्षा ३ मा स्थानीय सामुदायिक बिद्यालय मित्रता प्राविमा पढ्दै आएका छन् । उनीहरुको जन्मदर्ता नभएका कारण विद्यालयले बारम्बार ताकेता गर्दै आएको छ । छोरीको विवाह दर्ता, नागरिकता नभएको तथा ज्वाइँको समेत नागरिकता नभएका कारण उनीहरुको जन्मदर्ता बनाउन समस्या भएको गाविसको कार्यालयले आफूलाई जवाफ दिँदा झनै निराश बनेकी उनले गुनासो पोखिन् ।

ज्वाइँको मृत्यु भएपश्चात् घर पक्षकाले खासैरुपमा चासो नदेखाएपछि छोरी रेणुकाले ती नातिनातिनीलाई आफ्नो जिम्मामा सुम्पेर पैसा कमाउन भारततर्फ लागेकी सुकमायाले बताइन् । माइतीको सहारामा छोराछोरीको भरणपोषण एवम् आर्थिक सहायता गर्नका लागि समयसमयमा भारतबाट छोरीले भने पैसा पठाउँदै आएको जसका कारण आफुले नातिनातिनीलाई सरकारी विद्यालयमै भए तापनि शिक्षादीक्षा दिलाउनमा सफल भएकी उनले जानकारी दिइन् ।

स्थानीयवासीको रोहवरमा शिक्षक, अभिभावक सङ्घले सिफारिस गर्दा उनीहरुलाई विद्यालयमा भर्ना गराई अध्यापन गराउँदै आएको सो विद्यालयकी प्रधानाध्यापिका कल्पना देवकोटाले बताउनुभयो । उच्च शिक्षा अध्ययन गर्नका लागि जन्मदर्ता अत्यन्त आवश्यक भएकाले उनका अभिभावकलाई विद्यालयले भने बारम्बार ताकेता गर्दै आएको प्रधानाध्यापिका देवकोटाले स्वीकार गर्नुभयो । सो विद्यालयमा १४ जनाभन्दा बढी यस्ता विद्यार्थी अध्ययनरत रहेको मित्रता प्रावि, खयरमाराले जनाएको छ ।

यस सम्बन्धमा गौशाला स्रोतकेन्द्रका स्रोतव्यक्ति दीपक बरालका अनुसार सरकारी विद्यालयमा कक्षा ५ सम्ममा यस्ता विद्यार्थीको जन्मदर्ता बेगर नै विद्यालयमा नामदर्ता हुने प्रावधान रहेको छ । अभिभावकले कुनै उपाय अपनाई त्यस्ता विद्यार्थीको जन्मदर्ताको व्यवस्था गर्नका लागि छुट दिएकाले सो अवधिभित्रमा जसरी पनि विद्यालयमा जन्मदर्ता पेस गरिनु अतिआवश्यक रहेको स्रोतव्यक्ति बरालको भनाइ रहेको छ ।

खयरामारा गाविसमा भने यस्ता विद्यार्थीको तथ्याङ्क नरहेको सामाजिक परिचालिका मनिषा श्रेष्ठले बताउनुभयो । अब यस्ता तथ्याङ्क पनि चाँडै नै सङ्कलन गरिने परिचालिका श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

गाविसभित्र जन्मेको कुनै पनि बालबालिकालाई ३५ दिनभित्र जन्मदर्ता गराउन आउँदा नागरिकताको आवश्यकता नपर्ने गाविसका सचिव जीवनहरि पोखरेलले खुलासा गर्नुभयो ।

सुकमायाको हकमा भन्नुपर्दा उनीहरुको नातिनातिनीको जन्म खयरमाराभन्दा बाहिर भएकाले जन्मदर्ता बनाउन भने मुस्किल नै रहेको सचिव पोखरेलले जानकारी दिनुभयो । रासस

सम्बन्धित खबरहरु