prachanda-babu1

जनबोली/२९ माघ, काठमाडौं । नेकपा माओवादी फेरी पनि शसस्त्र द्वन्दकै शैलिमा फर्किएको छ ।

बिहीबार सार्वजानीक भएको एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले माओवादी फेरी द्वन्दकै शैलीमा फर्किने हो की भन्ने संकेत गरेको छ ।

बिहीबार पहिचानवादी युवा शक्ति घोषणा कार्यक्रममा प्रचण्डले भने चैत १६ पछि केन्द्रमा समानान्तर संघीय सरकार चलाउने आजैबाट घोषणा भयो ।
फागुन १६ पछि सुरु हुने दोस्रो चरणको आन्दोलनका क्रममा सरकारी कार्यालयहरु ‘जनता’ले कब्जा गर्ने भन्दै उनले त्यसबाट पनि आफूहरुको माग सम्बोधन नभए चैतमा निर्णायक आन्दोलन गर्ने बताए ।
केन्द्रमा नै समानान्तर संघीय सरकार चलाएर राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्नेछौं, कुन सरकार बैधानिक हो ? प्रचण्डले भने ।

आफूहरु शान्ति सम्झौताको पक्षमा रहेको र कांग्रेस र एमालेले सो सम्झौता तोडेको राष्ट्रसंघलाई भन्ने जानकारी दिँदै प्रचण्डले भने ‘हामी सोध्ने छौं तपाई कतापट्टि हो ?’

छिमेकी मुलुक चीन र भारतलाई पनि कसलाई साथ दिने भनेर सोध्ने बताउँदै प्रचण्डले भने ‘शान्ति सम्झौता तोड्ने बैधानिक कि सम्झौताको पक्षमा रहने बैधानिक सरकार हो ?’

प्रचण्डले अहिले जारी पहिलो चरणको आन्दोलनमा कांग्रेस र एमालेलाई विगतका सहमतिबाट पछि नहट्नुस् भनेर सम्झाउन भएको बताए ।

अहिले पनि आफूहरु सहमतिबाटै अघि बढ्न तयार रहेको भन्दै उनले विगतका सहमतिबाट पछि हटे कांग्रेस र एमालेलाई चर्को मूल्य पर्ने चेतावनी दिए । दोस्रो चरणको आन्दोलनबारे संकेत गदै भने, फागुन १६ पछि ‘जनता’ले सरकारी कार्यालय कब्जा गर्नेछन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले एक पक्ष कांग्रेस एमालेले शान्ति सम्झौता तोड्छन् भने जनतालाई आफ्नो सरकार चलाउने अधिकार भएको बताए । फागुन १६ पछि प्रादेशिक सरकारहरु बनाइने छ, नाकाबन्दी गरिनेछ । तर, जनतालाई दुःख दिइने छैन, प्रचण्डले भने ।

‘जनयुद्ध दिवस’ फागुन १ को अघिल्लो दिन युवा दस्ताहरुको घोषणा कार्यक्रममा सहभागी प्रचण्डले २० वर्षअघि ६० जना युवालाई भेला पारेर जनमुक्ति सेनाको फर्मेसन तयार गरेको स्मरण आफूलाई भएको सुनाए ।

तर, अहिले त्यस्तो युद्ध आवश्यक नभएको भन्दै उनले भने ‘अब त्यो रुपमा हिट एण्ड रन आवश्यक छैन, लाठी नै काफी छ, १० र १५ लाख युवा परिचालन गरेपछि हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

पहिलो चरणमा आफ्नो पार्टी एमाओवादीले १० हजार र ३० दलीय मोर्चाका अन्य दलले १० हजार युवा परिचालन गर्ने उनले बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले दोस्रो चरणमा २ लाख र निर्णायक चरणमा १० लाख युवा परिचालन गर्ने योजना सुनाए ।

कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको नाम नलिई दोस्रो जनआन्दोलनमा सहभागी नरहेकाहरु अहिले सत्तामा रहेको बताए । उनले भने ‘केही नेताहरुले जनआन्दोलनको खिल्ली उडाएका थिए, गोरुगाढा चढेर अमेरिका पुगिँदैन भन्नेहरु अहिले सत्तामा छन् भन्दै ओलीलाई कटाक्ष गरेका थिए ।’

सम्बन्धित खबरहरु