prachandaकाठमाडौं । ‘अस्पताल लग्यो भने डाक्टरले पैसा नभए उपचार हुँदैन भन्दै लखेट्छन् । स्वास्थ्य मन्त्रालयमा जाँदा कर्मचारीले हप्काउँछन् । मैले भोट दिएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लेसमेत सहयोग गर्छु भने तर आसैआसमा वर्ष दिन बित्यो ।

मेरो छोरो हेर्दाहेर्दै मर्न लाग्यो’, नवलपरासी राँकाचुलीका श्यामबहादुर क्षेत्रीले भने, ‘नेताले उपचार बहानामा राज्यको ढुकुटी सक्न हुने तर गरिब बिरामी त्यत्तिकै मर्नुपर्ने रहेछ यो देशमा ।’

१४ वर्षीय छोरा नीरबहादुरको टाउकोमा क्यान्सर भएपछि उपचार सहयोग माग्दै विभिन्न निकाय र व्यक्तिलाई लेखेका दर्जनभन्दा बढी चिठीपत्र बोकेर स्वास्थ्य मन्त्रालयको गेटमा बसेका क्षेत्रीले भने, ‘भित्र गयो भने तपाईंको काम हुँदैन, यहाँ बसेर फाइदा छैन भन्दै कर्मचारीले हप्काउँछन् ।’

दुई वर्षपहिले नीरबहादुर भाइबहिनीसँग खेल्दाखेल्दै आँगनमा लडेर बेहोस भए । केहीबेरमा होसमा आएपछि उनी टाउकोमा कसैले टोकेको भन्दै छट्पटाउन थाले ।

भारतीय सेनाबाट निकालिएका श्यामबहादुरले छोरालाई उपचारका लागि चितवन मेडिकल कलेज पु¥याए । महिनौं उपचार गर्दा पनि रोग पत्ता नलागेपछि त्रिवि शिक्षण अस्पताल जान डाक्टरले सुझाए ।

श्यामबहादुर ऋण काढेर काठमाडौं आए । शिक्षण अस्पतालमा महिनौं उपचार गराउँदा पनि रोग पत्ता लागेन । उक्त अस्पतालले पुनः चितवन जान सल्लाह दियो । उनी छोरा लिएर पुनः चितवन मेडिकल कलेज पुगे । जाँच गर्दा जुकाले अन्डा पारेपछि फुटेर क्यान्सर भएको पत्ता लाग्यो ।

‘चिकित्सकहरु छोराको उपचार नेपाल वा भारतमै सम्भव भएको र शल्यक्रियाका लागि धेरै पैसा चाहिन्छ भन्छन्’, श्यामबहादुरले भने, ‘उपचार गर्ने अब मेरो हैसियत छैन । राज्यले सहयोग गरेन ।’ दुखाइले जहाँ पायो त्यहीं हिँड्न थालेपछि उनले छोरालाई घरमा थुनेर राखेका छन् । आजको अन्नपूर्णमा समाचार छ ।

सम्बन्धित खबरहरु