काठमाडौं । बहुमतीय प्रक्रियामार्फत संविधान निर्माणका काम अघि बढाएको संविधानसभा बैठक अनिश्चित भएको छ । प्रक्रियाविरोधी विपक्षी मोर्चाको दबाबमा फेरि ‘सहमति खोज्न’ अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको हो ।
विपक्षी मोर्चामा रहेका राजनीतिक दलको सहमतिबिना अघि बढेको संविधान निर्माण प्रक्रिया पनि बैठकसँगै स्थगित भएको छ ।
बैठक बहिष्कार गरेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नागरिक समाजका अगुवाले अर्को सूचना नभएसम्मका लागि संविधानसभा बैठक स्थगित गरेर वार्ताको वातावरण बनाउन आग्रह गरेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
दाहालले बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी वार्ताको वातावरण बनाउन संविधानसभा बैठकको अर्को मिति नतोकी स्थगित गरिदन आग्रह गरेका थिए ।
नागरिक समाजका अगुवाले पनि प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष दाहाल र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई निवासमै पुगेर यस्तै आग्रह गरेका थिए ।
त्यसपछि दिउँसो बसेको संविधानसभा बैठकमा प्रस्ताव निर्माण समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको प्रतिवेदन पेस गरेका थिए ।
उनले संविधानसभामा पेस गरेको प्रतिवेदनमा अघिल्लो संविधानसभादेखि रहेका संविधानका विवादित विषयमा आधारित प्रश्नावली छन् । १ सय ३ असहमतिका विषयका २ सय ३२ वटा प्रश्न निर्णयका लागि तयार गरिएको छ । आजको नागरिकमा समाचार छ ।