जनबोलीJana-yuddha/१ फागुन, काठमाडौ ।  आज फागुन १ गते अर्थात जनयुद्ध दिवस, एमाओवादी, नेकपा–माओवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीलगायत माओवादी विचारधाराका पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

२० वर्षअघि बन्दुकबाट टिकेको राज्यसत्ता बन्दुकबाटै ढलाउँन सकिन्छ भन्ने उद्घोषका साथ सुरु भएको जनयुद्ध १० वर्षमा शान्ति प्रक्रियासँगै विधिवत अन्त्यको घोषणा गरिएको छ भने माओवादी पार्टी पाँच टुक्रामा विभाजित भएको छ ।

तत्कालीन नेकपा (माओवादी) नारायणकाजी श्रेष्ठको मसालसँग एकता गर्दै एकीकृत माओवादी बन्यो भने त्यसबाट विभाजन भएर मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, मातृका यादव नेतृत्वमा नेकपा (माओवादी) बनेका छन् भने शान्ति प्रक्रिया सुरु हुँदै गर्दा मणि थापा नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट पार्टी बनेको थियो ।

जनयुद्ध दिवसको अवसरमा एमाओवादीले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम, वैद्य नेतृत्वको नेकपा–माओवादीले वसन्तपुरमा सभा तथा चन्द माओवादीले बालाजु बाइसधारामा चियापानको आयोजना गरेका छन् ।

२०५२ साल फागुन १ गते अर्थात आजैका दिन राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको थियो । जनयुद्धका क्रममा करिब १५ हजारले ज्यान गुमाए भने हजारौं, घाइते, अपांग, वेपत्ता र अंग भंग भएका छन्

राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएपछि तत्कालीन सात राजनीतिक दलहरु र नेकपा (माओवादी) बीच १२ बुँदे समझदारीको आधारमा २०६२/६३ को जनाआन्दोलन हुँदै विस्तृत शान्ति सम्झौता हुँदै माओवादी शान्तिपूर्ण राजनीतिको बाटोमा अवतरण गरेको थियो ।

दलहरुबीचको सहमतिको आधारमा २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन भएपनि त्यसले संविधान दिन सकेन भने दोस्रो संविधानसभा पनि अहिले सत्ता पक्ष र विपक्षीको किचलोको केन्द्र बनेको छ ।

शान्ति प्रक्रियाका झण्डै ९ वर्ष पुरा हुन लाग्दा समेत जनताले संविधान पाउन सकेका छैनन् भने सामाजिक, आर्थिक क्षेत्रमा कुनै सुधारको संकेत दिन दलहरु सफल भइरहेका छैनन् ।

शान्तिपूर्ण राजनीतिमा ओर्लिएर माओवादीले दुई पटक सम्म सरकारको नेतृत्व गरेपनि द्वन्द्वपीडितहरुले अहिले सम्म राहत पाउन सकेका छैनन् । पहिलो संविधान सभाबाट पहिलो शक्ति बनेको माओवादी दोस्रो संविधानसभामा तेस्रो शक्तिमा खुम्चिन पुग्यो भने वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव नै बहिस्कार गरेको थियो ।

सम्बन्धित खबरहरु