स्वीस बैंकमा रहेको नेपाली कालो धन र एमाओवादी निकट व्यवसायी सुमार्गीबीच तालमेलको आशंका

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १ फाल्गुण, २०७१

images
जनबोली १ फागुन, काठमाडौं । स्वीजरल्याण्डको एक नीजि बैंकमा नेपालीको ५ करोड ४० लाख डलर अर्थात ५ अर्बभन्दा बढी रुपैयाँ रहेको खुलासा भएको केही दिनमै एमाओवादी निकट व्यवसायी अजय सुमार्गीको नाममा विदेशबाट साढे ३ अर्ब रुपैयाँ नेपाल आयो ।

जसलाई अहिले राष्ट्र बैकले रोक्का गरेको खुलासा भएको छ । जुन कुराको तथ्य थाहा पाएपछि व्यवस्थापिका संसदको अर्थ समितिमा रहेको सांसदहरुले चासो देखाएका छन् ।

बैठकमा सभासदहरुले स्वीस बैकमा रहेको त्यो पैसा कसको हो ? र एकै पटक साढे ३ अर्ब भित्रिएको अजय सुमार्गीको रकम कहाँबाट र कसरी आयो यो जनताले थाहा पाउनुपर्छ भन्दै समिति सभापतिसँग माग गरे ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकमा अबौँं रुपैयाँ, त्यो पनि विदेशी बैंकसँग गाँसिएको विषय आएपछि अर्थ समितिका सभापति प्रकाश ज्वालाले यसबारेमा सरकार र सम्बद्ध निकायसँग बुझ्नुपर्ने निष्कर्ष सुनाएका थिए ।

बैठकमा सभासदहरुले विदेशको बैठकमा रहेको पैसा र विदेशबाट नेपाल भित्रिए पनि राष्ट्र बैंकले निकाल्न नदिएको भनिएको व्यापारी अजय सुमार्गीको पैसाका बारेमा चासो राखेपछि यसबारे सरकारसँग बुझ्ने निर्णय भएको हो । बैठकमा सभासद केशब बडालले भने यत्रो रकमका बारेमा जनतालाई जानकारी दिनुपर्छ यसको खोजी गर्ने दायीत्व यही समितिको हो भन्दै कड्कीएपछि अधिकांश सभासदले हो मा हो मिलाएका थिए ।

स्वीस बैंकमा रहेको नेपालीको पाँच करोड ४० लाख डलर र राष्ट्र बैंकले रोकेको भनिएको सुमार्गीको साढे ३ अर्ब रुपैयाँबारे जानकारी दिन समितिले अर्थमन्त्री डा. रामशरण महत र राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई बोलाउने भएको छ ।

‘यी दुबै विषय संवेदनशील भएकाले यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित सम्बद्ध अधिकारीलाई आइतबार बोलाउने निर्णय भएको छ’ सभापति प्रकाश ज्वालाले जनबोली डटकमका सम्पादक इन्द्र आचार्यलाई जानकारी दिए ।

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइएसीआईजेले स्वीस लीग नामक प्रोजेक्टमा स्वीटरल्यान्डको एचएसबीसी बैंकमा रहेको कालो धनको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट पाँच करोड ४० लाख डलर जम्मा भएको देखाइएको छ ।

उक्त रकम आठ नेपालीको भएको र ती खाताहरु चालू अवस्थामा रहेको बताइए पनि खातावालाको नाम भने सार्वजनिक गरिएको छैन । समितिले यसको विवरणसमेत मागेको छ ।

सम्बन्धित खबरहरु