
जनबोली/१ फागुन, बेनी । बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार बढिरहेका बेला म्याग्दीका महिलाको बायोग्यासतर्फ आकर्षण बढ्दै जान थालेको छ ।
धुँवारहित वातावरणमा छिटो खाना बनाउन र पकाउन सजिलो हुँदा ग्रामीण महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो । जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट गाविसलगायत ३८० घरमा चर्पी जडित बायोग्यास निर्माण भएका छन् ।
सिङगा गाविस–३ सुर्केमेलाकी डम्बरकुमारी रानाको घरमा हिजोआज चर्पीजडित ग्यासबाट खाना पाक्ने गरेको छ । रानाजस्तै पश्चिमी भेगका करिब ४०० गृहिणीले बायोग्यासबाट खान पकाउन थालेका छन् ।
जिल्ला ऊर्जा तथा वातावरण शाखाले दुई हजार ५०० प्रतिप्लान्ट अनुदान दिने भएकाले चर्पी जडित बायोग्यास प्लान्टको माग बढ्दो छ ।
“गाउँमा चर्पी जडित बायोग्यासको प्रयोगमा वृद्धि भएको छ । ग्यासको निर्माणले खाना पकाउन र बत्ती बाल्न सजिलो भएको छ । गाउँमा जथाभावी वन फँडानी गर्न नपाइने भएपछि दाउरालगायतका इन्धनको विकल्प बायोग्यासले लिएको हो ।
सस्तो, सफा, स्थायी र वातावरणका दृष्टिले समेत उपयुक्त हुने हुँदा गृहिणीहरु बायोग्यास प्लान्टतर्फ आकर्षित भएका हुन् । जिल्लामा ऊर्जा कार्यालयबाहेक गण्डकी र प्रगति गोबरग्यास कम्पनीले पनि गोबरग्यास प्लान्ट निर्माण गर्दै आएका छन् ।
सरकारले गोबरग्यास प्लान्ट निर्माण गर्ने कृषकलाई प्रोत्साहनस्वरुप रु आठ हजार ५०० अनुदानको रूपमा सहयोग गर्ने गरेको छ । तर उच्च हिमाली क्षेत्रमा बढी चिसो हुने हुँदा गोबरग्यास प्लान्टमा समस्या देखापरेको छ ।
बायोग्यास प्लान्टबाट निस्कने लेदोबाट बन्ने कम्पोस्ट मललाई फलफूल, तरकारीखेतीमा प्रयोग गर्दा बालीमा लाग्ने विषालु किरा मार्नसमेत प्रयोग गर्न सकिन्छ । “सधैँ काँचा र अधमारो दाउराले खाना पकाउँदा निक्लने धुँवाले दमको रोग बढेको थियो, अहिले घर पनि सफा देखिएको छ, दम पनि कम भएको छ” अर्मनकी गृहिणी टेककुमारी कँडेलले बताईन्।
सुर्केमेला सामुदायिक वनले आफ्ना वन उपभोक्तालाई चर्पी जडित बायोग्यास प्लान्ट बनाउन आर्थिक सहयोगसमेत गरेको छ । तत्काल रकम खर्च गर्न नसक्नेलाई प्रतिप्लान्ट निर्माण गर्न रु दुई हजार सापटस्वरुप दिने गरेको छ ।
यसो गर्दा दाउराको खपतमा कमी आई वनमाथिको निर्भरता घटेको स्थानीय तिलक गुरुङले बताए । बायोग्यास उत्पादन गर्दा घरमा पालेका गाईवस्तु, भेडाबाख्रा, कुखुरा र मानिसको मललाई पनि प्रयोग गर्ने गरिएको छ ।
ग्रामीण ऊर्जा कार्यालयले अर्मन, बिम, ओखरबोट, मराङ, मुना, चिम्खोला र लुलाङ गाविसमा गरी १९९ किलोवाट विद्युत् उत्पादन गरी एक हजार ७४२ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराएको छ । ऊर्जा विकास कार्यक्रमबाट जिल्लाका विभिन्न गाउँमा गरी ५०० घरमा सोलार बिजुलीसमेत पुर्याएको छ ।