डिसी, अमेरिका । केही समयदेखि विरामी भएर अस्पतालमा उपचार गराइरहेकी चर्चित गायिका तारा थापाको उपचारका लागि अमेरिकाका प्रवासी नेपालीले सहयोग संकलन गरेका छन् ।
युरोपीयन देश नेदरल्याण्डमा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको ५६ औ शाखा अमेरिकाले नेपालकी ख्याती प्राप्त गायिका थापाको उपचारको लागि ५५ हजार रुपैयाँ संकलन गरेर नेपाल पठाएको हो ।
केही समयदेखि गायिका थापा विरामी परेर अस्पतालमा उपचार गराउँदैछिन् । कलाकार समाज शाखा अमेरिकाले नेपालकी वरिष्ठ गायिका मिरा राणालाई संकलन गरिएको सहयोग हस्तान्तरण गरेका छन् । गायिका राणा नेपाल आउन लागेकाले उक्त रकम हस्तान्तरण गरी उपचार खर्चमा पुर्याउन उनलाई जिम्मा दिइएको हो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका शाखाका सभापति आनन्दु लामा थिङ्गले कलाकार समाजकी संरक्षक समेत रहेकी गायिका मिरा राणालाई उक्त रकम हस्तान्तरण गरेकी थिईन् । राणाले नेपाल आएर सहयोग रकम विरामी परेकी गायिका थापालाई दिनेछिन् ।
सहयोग रकम कलाकार समाजका सबै पदाधिकारीबाट संकलन गरिएको हो । समाजका उपाध्यक्ष प्रख्यात गायक मधु क्षेत्री लगायत समाजका पदाधिकारीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ५६ औ शाखा अमेरिकाले स्थापना भएको कम समयमै मानवीय सेवा जस्तो ठुलो धर्म केही हुदैन भन्ने भावनामा समस्यामा परेका कलाकारलाई बेलाबेला सहयोग गर्दै आइरहेको छ । ठुलो मात्रामा आर्थिक सहयोग गर्न नसके पनि केहि सहयोग गर्न पाएकोमा कलाकारहरु हर्षित भएको सभापति लामाको भनाई थियो ।