जनबोली/२ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी चैत २८ गते बाग्लुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम आज सार्वजनिक गरेको छ ।
आयोगले उपनिर्वाचनका लागि चैत १ गते उम्मेदवारको मनोनयन दर्ता, २ गते उम्मेदवारी दर्ता भएको सूची प्रकाशन, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते मनोनयनपत्र एवम् उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, ५ गते नामावली प्रकाशन गर्ने र चैत ६ गते उम्मेदवारले नाम फिर्ता लिने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यस्तै चैत ७ गते अन्तिम नामावली प्रकाशन गरी चैत ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र चैत २८ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको आयोगका सहसचिव सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो क्षेत्रका सभासद् हरिबहादुर खड्काको दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा निर्वाचन गर्नका लागि निर्णय गरेको थियो ।
गत मङ्सिर १७ गते जिप दुर्घटनामा परी घाइते भएका सभासद् खड्काको उपचारका क्रममा निधन भएको थियो ।