जनबोली/२ फागुन, काठमाडौं । महिला राष्ट्रिय क्रिकेटमा क्षेत्र नम्बर ७ जनकपुरले लगातार दोस्रो जित हात पारेको छ ।
शुक्रबार भएको खेलमा जनकपुरले क्षेत्र नम्बर १ बिराटनगरलाई १४ रनले पराजित गर्यो ।
पुल्चोकमा पहिले ब्याटिङ गरेको जनकपुरले ममता चौधरीको अर्धशतकको मदतमा ४० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनायो । ममताले ५५ बलमा ६ चौका र एक छक्काको मदतमा ५८ रन बनाइन् भने शोभा आलेले ४२ रन बनाइन् ।
बिराटनगरकी संगिता राईले ३ विकेट लिइन् भने रश्मी शर्माले दुई विकेट लिइन् ।
जवाफमा बिराटनगरले २८.५ ओभरमा १५५ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि काजल श्रेष्ठले ४१ र रोमा थापाले ४० रन बनाएपनि टीमको हार टार्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा शान्ति चौधरीले चार विकेट लिइन् भने ममत चौधरीले तीन विकेट लिइन् । ममता प्लेयर अफ दि म्याच घोषित भइन् ।
नेपालगञ्जद्धारा धनगडी १६० रनले पराजित
यस्तै प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा क्षेत्र नम्बर ५ नेपालगञ्जले क्षेत्र नम्बर ९ धनगडीलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको नेपालगञ्जले तिर्सना सिंह र सञ्जु चौधरीको अर्धशतकको मदतमा निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । तिर्सनाले अविजित ६० रन बनाइन् भने सन्जुले ५१ रन जोडिन् ।
जवाफमा मैदान उत्रिएको धनगडी १३.५ ओभरमा मात्र ४२ रनमा अल आउट भयो । उसका लागि विमला भट्ट र विन्दु रावलले १० रन बनाउनु बाहेक अन्य ब्याट्सवुमन चल्न सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा नेपालगञ्जकी तिर्सना र कमाला बुढाथोकीले मसान ३-३ विकेट लिइन् । तिर्सना प्लेयर अफ दि म्याच बनिन् ।