prachandaजनबोली/२ फागुन, काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार मुद्दामा आफूलाई जेल हाल्छु भन्नेहरुलाई ‘कायर’ संज्ञा दिएका छन्। तत्कालीन लडाकुका लागि छुट्ट्याइएको करोडौं रुपैयाँ हिनामिना भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिरहेका बेला उनले ‘मुद्दा र जेल’ आफ्नालागि रौं बराबर भएको बताए।
‘प्रचण्ड र बाबुरामलाई जेल हाल्ने, भ्रष्टाचारको मुद्दा लगाउने भनी तर्साउँछन्। ती कायर स्वरहरु हुन्,’ २० औं ‘जनयुद्ध दिवस’ का अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा दाहालले भने, ‘हेलिकप्टरबाट दिनदिनै बमबारी गर्दा, बिहानबेलुका बन्दुकसँग लड्दा आनन्द मान्नेहरुलाई यिनीहरुको जेल, मुद्दा रौंबराबर पनि होइन।’
उनले मृत्युलाई हत्केलामा लिएर बिहानदेखि बेलुकीसम्म मृत्युलाई कुरेर बस्नेहरु भ्रष्टाचारको आरोपबाट नडराउने बताए।
नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विभिन्न धारमा विभाजन भएका माओवादी पार्टीलाई दिवसका अवसरमा एउटै मञ्चमा उपस्थित गराउने आफ्नो प्रयास सफल नभएको बताए। नेकपा–माओवादी (वैद्य समूह), नेकपा माओवादी (विप्लव समूह) लगायतका माओवादी आन्दोलनका धारहरुले अर्को पटक जनयुद्ध दिवस मनाउन साझा मञ्च प्रयोग गर्ने दाबीसमेत उनले गरे।
‘अहिले जनयुद्धको उपलब्धिमाथि प्रहार भएको छ। माओवादी धारका यी साझा उपलब्धि हुन्। यिनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ अध्यक्ष दाहालले भने। उनले ऐतिहासिक राजनीतिक उपलब्धि अपहरण गर्न खोज्ने प्रतिक्रान्तिकारी विरुद्ध लड्न आफ्ना कार्यकर्तालाई अपिलसमेत गरे। उपलब्धि रक्षाका लागि एक भई संघर्षमा जाने बेला आएको उनले बताए।
‘गल्ती सबैबाट हुन्छ, सिक्ने यसैबाट हो। हामीबाट पनि गम्भीर त्रुटि भएका छन्। अहिले हामी निन्द्राबाट ब्युँझिएका छौं,’ उनले भने, ‘आलोचना गरेर, रुनेधुने गरेर केही अर्थ छैन।’
माओवादीले आन्दोलनमार्फत स्थापित गरेका मुद्दा नेपाली कांग्रेस र नेकपा एमालेले खोस्ने प्रयास गरेको आरोपसमेत दाहालले लगाए। ‘बेइमानी र अनैतिक तरिकाले अर्काको मुद्दा मेरा हुन् भनर जनताले पत्याउँछन्? हाम्रा मुद्दा कसैले लगेर लगिँदैन। माओवादी आन्दोलन बाहिर देश जान सक्ने स्थिति छैन,’ उनले भने।
संगठन सानो हुँदैमा जनयुद्ध गर्न नसक्ने भन्ने तर्क सही नभएको दाहालले बताए। उनले जनयुद्धलाई एउटा विचार र अभियान बताउँदै अबको आन्दोलनबाट पार्टी फेरि पुरानै अवस्थामा फर्किने ठोकुवा पनि गरे। ‘कुनै संगठन भएर नेपालमा जनयुद्ध सुरु भएको होइन। यो एउटा विचार र अभियान हो। प्रचण्ड र बाबुराम मर भने पनि चिहानबाट फेरि माओवादी आन्दोलन निस्कन्छ,’ दाहालले भने।
२०५२ सालमा कांग्रेस र एमालेले गल्ती गर्दा के भयो भन्ने इतिहास साक्षी रहेको भन्दै दाहालले माओवादी पार्टी अहिले उठिसकेकाले अब अघि बढ्न सुरु गरिसकेको जनाए। ‘अब सहिद परिवारले निराशा बाँड्ने काम होइन, क्रान्तिका गीत गाउनुपर्छ,’ उनले भने।
एमाओवादी सचिव टोपबहादुर रायमाझीले अहिले लड्ने बेला नभएको बताए। अर्का नेता वर्षमान पुनले यथास्थितिवादीसँग लड्ने साहस जुटाउन अपिल गरे।
‘जनयुद्ध दिवस’ का अवसरमा वैद्य समूहले वसन्तपुर, विप्लव समूहले राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजना गरेका थिए। मातृका यादव नेतृत्वको माओवादीले भने जनयुद्धका अवसरमा कुनै कार्यक्रम आयोजना गरेन।
आफ्ना ४० बुँदे मागको सम्बोधन नभएपछि २०५२ फागुन १ गते देशका विभिन्न प्रहरीचौकीमा सशस्त्र आक्रमण गरी माओवादीले युद्ध सुरु गरेको थियो। १० वर्षे सशस्त्र ‘जनयुद्ध’ मा १३ हजारभन्दा बढी मारिएका थिए भने हजारौं बेपत्ता छन्।

सम्बन्धित खबरहरु