sudhariyeko chulo३ फागुन, काठमाडौ । पैसा कमाउन बिदेसिनु नै पर्छ भन्ने छैन, गाउँमै बसेर पनि राम्रै आम्दानी गर्न सकिन्छ । बैतडी सिद्धेश्वर ४ का गणेश विष्ट (३५ वर्ष) ले गाउँमै बसेर सुधारिएको चुल्हो निर्माण गरी मनग्य आम्दानी गर्न थालेपछि अन्य युवाहरु पनि अहिले चुल्हो प्रवर्द्धक बन्न थालेका छन्, कारोबार दैनिकमा खबर छ ।

गाउँमै आम्दानीको कुनै बाटो नदेखेपछि साथीहरुको लहै लहैमा लागेर उनी पनि भारत हानिए । झण्डै पाँच वर्ष पञ्जावमा मजदुरी गर्दा पनि खासै प्रगति नभएपछि उनी एक वर्षअघि गाउँ फर्किए । पञ्जावमा उनको महिनामा ३/४ हजार भन्दा बढी बचत हुदैनथ्यो ।

गाउँ फर्किए लगत्तै खोड्पे बजारमा सञ्चालित सुधारिएको चुल्हो तालिम लिएपछि उनी गाउँघरमा चुल्हो बनाउन सक्रिय हुन थाले । एक वर्षमा उनले पाँच सय भन्दा बढी घरमा चुल्हो निर्माण गरेर झण्डै एक लाख कमाइ भएपछि झन् उत्साहित बनायो ।

विरानो ठाउँमा चौकीदारी गरेर वर्षमा मुस्किलले ३५ हजार बचाउन सकेका उनले घरमै बसेर लाख रुपैयाँ कमाउँदा निकै खुशी छन् । आफूलाई कमाइ पनि हुने, दाउरा र धुवाँको समस्याबाट आजित बनेका गाउँलेलाई स्वच्छ भान्छाको सुविधा दिन सकिने भएकाले आफ्नो पेशाप्रति सन्तुष्ट रहेको उनी बताउँछन् ।

तीन छोराछोरीसहित पाँच जनाको उनको परिवारलाई अब घरखर्च कसरी पुर्याउने भन्ने समस्या छैन । पहिला राम्ररी पढ्न नपाउँदा अनेक हण्डर खाएका उनी छोराछोरीको पढाईप्रति अत्यन्त संवेदनशील छन् ।

सम्बन्धित खबरहरु