बाणिज्य बैंकहरुमा कुन कम्पनीको शेयर किन्दा राम्रो होला ?

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ३ फाल्गुण, २०७१

नेपालको धितोपत्र बजारका लगानीकर्ताहरुमा कम्पनीको वास्तविक अबस्था पत्ता लगाउने, तथ्य विश्लेषण गर्ने र जोखिम मूल्याङकन गरेर लगानी गर्ने प्रबृत्ति बिस्तारै बढ्दै जान थालेको छ । लगानीकर्ताले आफुले लगानी गर्न चाहेका कम्पनीहको आधारभुत अवस्थाबारे जानकारी नराखी हल्ला र अरुको लहै लहैमा लाग्दा अप्रत्याशित नोक्सानी र जोखिम बहन गर्नु पर्छ । उसो भए राम्रा र सुरक्षित कम्पनी कसरी छान्ने त ? प्रस्तुत छ, बाणिज्य बैंकहरुको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय विवरणमा आधारित विश्लेषणः

 Banks

सुरक्षित लगानीका लागि बाणिज्य बैंक

नेपालको पूँजी बजारको अबस्था हेर्दा सबैभन्दा भरपर्दा र चलायमान कम्पनीहरु भनेका बाणिज्य बैंकहरु नै हुन् । यस्ता कम्पनीहरुमा कम जोखिम हुनुका साथै धितोपत्रहरु सहजै बेच्न सकिने, धितो राखेर कर्जा लिन सकिने र ठूला जोखिमहरु बहन गर्नसक्ने क्षमता राख्छन् । त्यसैले पूँजी बजारमा यस्ता कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको बढी संलग्नता पाईन्छ । बाणिज्य बैंकहरुको चुक्ता पूँजी, कमाई, जोखिम ब्यवस्था र लाभांश बाड्नसक्ने क्षमता लगायतका आधारभुत कुराहरुको बिश्लेषण  यसरी गर्न सकिन्छः

 

चुक्ता पूँजी र खुद नाफा

चुक्ता पूँजी बैंकहरुको लागि आधार हो तर चुक्तापूँजी धेरै हुँदैमा बैंकहरुको खुद नाफा धेरै हुन्छ भन्ने भ्रम पाल्नु हुँदैन् । यस आर्थिक बर्षको दोस्रो त्रैमासको बाणिज्य बैंकहरुको चुक्ता पूँजी र खुद नाफाको तुलनात्मक स्थिति तल प्रस्तुत गरिएको छ ।

नोटः लक्ष्मी बैंकको यस आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय विवरण प्रकाशित हुन बाँकी छ । ग्राण्ड प्रभुसँग बेचिने सम्झौतामा गएको र बित्तीय  बिबरण प्रकाशित गरेको छैन भने राष्ट्रिय बाणिज्य बैंक नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएको र सर्वसाधारणमा शेयर पनि जारी नगरेकोले यसमा समाबेश गरिएको छैन ।

कतिपय बैंकहरु जगैदेखि क्रमबद्द रुपमा बिकास हुँदै राम्रो परिणाम दिदै आएका छन् भने कतिपय खराब कर्जा उठाएर हालै धेरै खुद नाफा देखाउनेहरु पनि छन् । ब्याज आम्दानी, संचालन आम्दानी, शुल्क, कमिशन, बिदेशी मुद्राको कारोबार जस्ता स्रोतहरुबाट बैंकले कति कमाएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । लिने र दिने ब्याज दरको अन्तरले पनि बैंकहरुको कमाईमा असर पार्ने गरेको छ । यस्तो अन्तर पाँच प्रतिशत भन्दा बढी हुनु नहुने राष्ट्र बैंकको निर्देशन छ । जस्को जग बलियो छ, त्यो चाडै बिग्रने संभावना कम हुन्छ भने जस्ले ह्वात्तै प्रगति देखाएको छ उ चाडै बिग्रने पनि त्यति नै बढी संभावना हुन्छ । समग्रमा भन्दा बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा भन्दा यस आर्थिक बर्षमा खुद नाफा बढाउने स्पष्ट संकेत देखिएको छ ।

 

निक्षेप तथा कर्जा बिस्तारका दृष्टिले हेर्दा
बैंकहरुको प्रगति निक्षेप संकलन र कर्जा बिस्तारको अबस्था हेरेर पनि मापन गर्न सकिन्छ । निक्षेप संकलन बढाउन नसक्नेले कर्जा पनि आक्रामक रुपमा बिस्तार गर्न सक्दैन र खुद नाफा पनि बढाउँन सक्दैन भन्ने देखिएको छ । हेरौ बैंकको निक्षेप र कर्जाको अबस्थाः

 

प्रति शेयर आम्दानीको हिसाव गर्दा

बैंकहरुले प्रति शेयर आम्दानी जति बढाउँन सक्छन्, लगानीकर्ताहरु त्यति नै खुशी हुन्छन् । तर पूँजी धेरै भएका र खुद नाफा बढाउन नसक्ने बैंकहरु लगानीकर्ताको हेराईबाट पछि पर्छन । पूँजी बढाएर पनि एकनासको लाभांश दिईरहन सक्ने क्षमता राख्ने बैंकहरु पनि छन् ।

सामान्यतया पाँच अर्ब पूँजी नघाएका बैंकहरुले प्रति शेयर आम्दानी बढाउन बढी चुनौतिको सामना गर्नुपर्ने स्थिति देखिएको छ । तर नेपाल ईन्भेष्टमेन्ट बैंकले पूँजी पाँच अर्ब नजिक पुर्याए पनि कमाईको अनुपात सोही अनुसार कायम गरेको अबस्था पनि छ ।

 

जोखिम ब्यवस्थापनको दृष्टिले हेर्दा

बैंकहरुले प्रबाह गरेको कर्जाको साँवा ब्याज तोकिएको समयमा असुल भएन भने यस्ता कर्जाहरु निस्क्रिय कर्जामा गनिन्छन् । यस्ता निस्क्रिय कर्जा वापत बैंकहरुले तोकिए अनुसारको रकम जोखिम ब्यहोर्ने कोषमा छुट्याउँनु पर्ने हुन्छ । बढी रकम प्रोभिजन गर्नु पर्यो भने बैंकहरु घाटामा जान्छन् । नेपाल राष्ट्र बैंकले निस्क्रिय कर्जाको अनुपात पाँच प्रतिशत भन्दा तल हुनुपर्ने गरी तोकेको छ । पाँच प्रतिशत भन्दा बढी निस्क्रिय कर्जा भएका बैंकहरुलाई सामान्यतया राष्ट्र बैंकले लाभांश बाड्ने अनुमति पनि दिदैन् । अर्कौतर्फ निस्क्रिय कर्जाको अनुपात ह्वात्तै बढ्यो भने ग्राण्डले जस्तै राष्ट्र बैंकको कारबाहीको सामना गर्नुपर्छ ।

सबैभन्दा कम निस्क्रिय कर्जा हुने बैंक कम जोखिमयुक्त र बढी निस्क्रिय कर्जा हुनेहरु बढी जोखिमपूर्ण मान्निछन् । यस मामिलामा सरकारी बैंकहरु अलि पछाडि परेका छन् भने प्रभु बैंकलाई तत्कालीन किष्टको निस्क्रिय कर्जाले सताएको बुझ्न सकिन्छ । तर, यी बैंकहरुले निस्क्रिय कर्जा अनुपातलाई घटाई आफुलाई क्रमशः स्वस्थ बनाउँदै लगेका छन् ।

 

जगेडा कोषमा रकमको हिसावले हेर्दा

बैंकहरुको लगानी बिस्तार र जोखिम ब्यवस्थापन गर्न जगेडा कोषले महत्वपूर्ण भुमिका खेल्ने गर्छ । पूँजी, निक्षेपका साथै जगेडा कोष पनि कुन बैंक कति बलियो छ भनेर नाप्ने आधार हो । त्यसैले कम्पनीहरुले खुद नाफाबाट आर्जित सबै रकम लगानीकर्ताहरुलाई नबांडी केही रकम यस्तो कोषमा राख्ने गर्छन ।

लगानीकर्तालाई लाभांश बाड्न नपाउने कम्पनीहरुले खुद नाफालाई जगेडा कोषमा राख्ने गर्छन भने लाभांश बाड्न पाउने अबस्थामा त्यो कोषको पनि उपयोग गर्छन । जस्तो कुमारी बैंक र एनसीसी बैंकले यही कोषको समेत उपयोग गरी लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएका छन् । कुन बैंकको जगेडा कोषमा कति रकम छ तल हेरौंः

माथि प्रस्तुत विवरणका आधारमा हेर्ने हो भने सरकार नियन्त्रित नेपाल बैंकको जगेडा कोष अझै ऋणात्मक छ भने प्रभु बैंकले तत्कालीन किष्ट बैंकको निस्क्रिय कर्जा उठाएर भरखरै जगेडा कोष धनात्मक बनाएको छ ।

 
गत बर्षको खुद नाफाबाट लाभांश

राम्रा कम्पनीहरुले कमाई गरेसँग लगानीकर्ताहरुलाई सन्तुष्ट पार्ने गरी लाभांश वितरण गर्ने गर्छन । कतिपय कम्पनीहरुले राम्रो खुद नाफा गरे पनि लगानीकर्ताहरुलाई वितरण गर्न कन्जुस्याइँ गर्ने गरेको देखिएको छ । केही बैंकहरुले गत बर्ष राम्रो कमाई गरे पनि लगानीकर्तालाई बोनस शेयरको सट्टा नगद लाभांश दिदां ती कम्पनीको शेयरको भाऊ घट्न पुगेको थियो । नेपालको शेयर बजारमा लगानीकर्ताहरुमा पछिल्लो समय बोनस शेयर बाड्ने कम्पनीहरुप्रतिको आकर्षण बढेको देखिन्छ ।

पूँजी पर्याप्त भएका कम्पनीहरुले प्रति शेयर आम्दानी कम हुने भन्दै बोनस शेयरको सट्टा नगद लाभांश मात्रै पनि बाड्ने गर्छन । केही बैंकहरु यस्ता पनि छन् जसले बर्षेनी लगानीकर्तालाई बोनस शेयर र नगद लाभांशमा संतुलन गरी वितरण गर्दै आएका छन् । गत बर्षको खुद नाफाबाट कस्ले कति लाभांश बाँडे हेरौः

कस्तो बैंक छान्ने ?

तपाई शेयर बजारमा दीर्घकालीन फाईदाको हिसावले लगानी गर्दै हुनुहुन्छ कि क्षणिक नाफा घाटाको हिसावले प्रबेश गर्नुभएको छ भन्ने कुराले बैंकहरुको चयनमा फरक पर्नसक्छ । क्षणिक फाईदाको हिसावले लगानी गर्ने हो भने बाणिज्य बैंकहरु त्यति फाईदाजनक नहुनसक्छ तर दीर्घकालीन संभावना हेर्ने हो भने धेरै अवसरहरु छन् । हल्लाका भरमा लगानी गर्दा ग्राण्ड बैंकको पछिल्लो शेयर कारोबारमा लगानीकर्ता फसे जस्तै गरी पछुताउनुपर्छ भने दीर्घकालीन फाईदा हेर्ने हो भने आधारभुत कुराहरु विश्लेषण गरी राम्रा कम्पनी छान्नुपर्छ ।

नेपालका बाणिज्य बैंकहरुवीचमा पाँच अर्ब चुक्ता पूँजी पुर्याउँने होडबाजी सुरु भईसकेको छ । यस अबस्थामा आबश्यक पूँजी जुटाईसकेका बैंकहरुको तुलनामा दुई अर्ब भन्दा केही माथि मात्र चुक्ता पूँजी भएका तर कमाई राम्रो, जगेडा कोषमा उल्लेखनीय रकम र निस्क्रिय कर्जा कम भएका बैंकहरुको शेयरमा लगानी गर्दा बढी फाईदा हुनसक्छ ।

कतिपय बैंकहरुको चुक्ता पूँजीको हाराहारीमा जगेडा कोष, न्युन निस्क्रिय कर्जा अनुपात र राम्रो कमाई देख्न सकिन्छ । कम पूँजी भएका तर निक्षेप बढी भई लगानी सीमा पुगेका बैंकहरुले आफ्नो ब्यापार अरु विस्तार गर्न पूँजी पनि बढाउँनु पर्ने हुन्छ । यस्ता बैंकहरुले बढी मात्रामा बोनस शेयर दिने हुँदा लगानीकर्तालाई बढी फाईदा मिल्नसक्छ । बैंकहरुको अबस्थाबारे थाहा पाउन सम्पति र दायित्व पनि हेक्का राख्नुपर्छ ।

पाँच अर्ब नजिक पूँजी पुगेका वा ब्यापार विस्तारमा खासै रुची नभएका बैंकहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई सोचे जस्तो फाईदा नहुनसक्छ । त्यस्ता बैंकहरुले लगानीकर्तालाई नगद लाभांश मात्र दिएर टार्न सक्छन् । बिदेशी साझेदारी भएका बैंकहरुले बढी नगद लाभांशमा जोड गर्ने र स्वदेशी लगानीकर्ताहरु रहेको बैंकले आम लगानीकर्ताको चाहना बुझी बोनस शेयरमै जोड दिने गरेका छन् ।

केही बाणिज्य बैंकहरुले आफ्नो कर्जा बिस्तारमा आबश्यक पर्ने पूँजीका लागि सहायक हुने गरी बण्ड र डिबेन्चर पनि जारी गरेका छन् । यस्ता आवधिक डिबेन्चरहरुको म्याद समाप्त हुने क्रममा रहेका बैंकहरुले आकर्षक बोनस शेयर दिने संभावना रहेकाले लगानीकर्ताले त्यो अबसर पनि हेर्नुपर्छ। तर नगदा लाभांशको बढी आश गर्नेहरुका लागि बढी चुक्ता पूँजी भएका बैंकहरुको शेयर खरिद गर्दा पनि फाईदै हुन्छ । बैंकमा बढीमा सात प्रतिशत बार्षिक ब्याज दरमा निक्षेप थुपार्नुभन्दा राम्रा संभावना भएका बाणिज्य बैंकहरुको शेयरमा लगानी उत्तम विकल्प मान्न सकिन्छ ।

सम्बन्धित खबरहरु