संसद्को अर्थ समितिले स्वीस बैंकमा रहेको अर्बौ रकम र विदेशबाट स्रोत नखुली नेपाल भित्रिएको अर्वौ रकम बारे आज सरकारसँग बुझ्ने भएको छ ।
स्वीस बैंकमा रहेको नेपालीको पाँच करोड ४० लाख डलर र राष्ट्र बैंकले रोकेको भनिएको ब्यापारी अजय सुमार्गीको साढे ३ अर्ब रुपैयाँबारे जानकारी लिन समितिले अर्थमन्त्री डा. रामशरण महत र राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई आइृतबार बस्ने बैठकमा बोलाएको छ ।
‘यी दुबै विषय संवेदनशील भएकाले यथार्थ जानकारी माग्न अर्थमन्त्री र गभर्नरसहित सम्बद्ध अधिकारीलाई आइतबार बोलाउने निर्णय भएको छ’ अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने ।
केही दिन अगाडि मात्रै खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइएसीआईजेले स्वीस लीग नामक प्रोजेक्टमा स्वीटरल्यान्डको एचएसबीसी बैंकमा रहेको कालो धनको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालबाट पाँच करोड ४० लाख डलर जम्मा भएको देखाइएको छ ।
उक्त रकम आठ नेपालीको भएको र ती खाताहरु चालू अवस्थामा रहेको बताइए पनि खातावालाको नाम भने सार्वजनिक गरिएको छैन । यसैबीच एमाओवादी अध्यक्ष प्रचण्डनिकट व्यवसायी अजय सुमार्गीको नाममा विदेशबाट आएको पैसा राष्ट्र बैंकले रोकेको सन्दर्भमा पनि गभर्ननरसँग जानकारी लिइने भएको छ । एमाले सभासद केशव बडालले र्शीष नेताहरुको वार्तामै असर पर्ने गरी राष्ट्र बैंकले विदेशबाट आएको पैसा रोकेको चर्चा चलेको भन्दै त्यो पैसा कसको हो भन्ने प्रष्ट हुनुपपर्ने बताए ।
‘सभापतिज्यू राष्ट्र बैंकले विदेशबाट आएको केही अर्ब रुपैयाँ रोकेका कारण संविधान निर्माण प्रक्रियामै बाधा पुगेको हल्ला चलेको छ, त्यसो हो भने वार्तामा असर पार्नुहुँदैन’ संसदको अर्थ समितिमा शुक्रबार एमालेका सभासद केशव बडाल कड्किए । अरु सभासदले एकै स्वरमा थपे–स्वीजरल्याण्डको बैंकमा नेपालीको ५ करोड ४० लाख डलर अर्थात ५ अर्बभन्दा बढी रुपैयाँ रहेको खुलासा भएको छ, त्यो पैसा कसको हो रु जनताले थाहा पाउनुपर्छ ।