जनबोली/३ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गर्दैछ । सहमतिको आधारमा नयाँ संविधान जारी गर्न माग गर्दै आन्दोलनरत मोर्चाले आज जिल्ला प्रशासन कार्यालयहरु घेराउ गर्न लागेको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालय अगाडि अहिले मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेका छन् । अन्य जिल्लामा स्थानीय नेता, कार्यकर्ताको अनुकूल समयमा घेराउ तथा प्रदर्शन गर्ने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।
बहुमतीय प्रक्रियाबाट संविधान निर्माणको काम स्थगित गर्न र विगतका सहमति तथा सम्झौताका आधारमा अघि बढ्न सरकारले प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने मोर्चाले बताएको छ ।