Silver goldजनबोली/३ फागुन, काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घको राष्ट्रिय सम्मेलनमा ग्राहकलाई सस्तो गुणस्तरीय सुनचाँदी उपलब्ध गराउन सबै पदाधिकारीले प्रतिबद्धता जनाएका छन् ।

महासङ्घको राष्ट्रिय सम्मेलनले जारी गरेको छबुँदे सौराहा घोषणापत्रमा सुनचाँदी व्यवसायीहरुले मूल्य समायोजन गरी ग्राहकलाई सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । उपभोक्ता र व्यवसायीको सम्बन्ध तथा सरकारी निकायको सहयोगलाई समेटेर महासंघले घोषणापत्र जारी गरेको हो ।

सम्मेलनले २०३९ सालमा बनेको पुरानो आचारसंहितालाई परिमार्जन गरी एक महिनाभित्रमा नयाँ आचारसंहिता निर्माण गर्ने निष्कर्ष निकालेको महासङ्घका महासचिव डिएसरत्न शाक्यले जानकारी दिए ।

सम्मेलनले सुनचाँदी व्यवसायलाई समयानुकूल परिमार्जन गर्दै निर्देशिका जारी गर्न दबाब दिने निष्कर्ष समेत निकालेको छ ।

सौराहा घोषणापत्रमा सुनचाँदीको नीति र निर्देशिका जारी गर्न सरकारलाई सहयोग गर्ने, विगतको सुन वितरण प्रणाली प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली लागू गर्ने, सुनचाँदी एकठाउँबाट अर्को ठाउँमा लैजाँदा हुने धरपकटलाई निरुत्साहित गर्ने लगायत उल्लेख छ ।

घोषणापत्रले सुनचाँदीको कारोवार बढाउन योजना समेत बनाएको छ । जसका लागि सरकारी सहयोग माग गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खबरहरु