जनबोली/३ फागुन, धादिङ । जोखिमपूर्ण तरिकाले साधारण ट्युबबाट त्रिशूली नदी तरेर विद्यालय जान बाध्य चेपाङ बालिकालाई शनिबार बिग रिभर ट्युब (बोटिङ ट्युब) सेटसहित सोलार र शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।
त्रिशूलीमाथि झोलुङ्गेपुल नहुँदा समस्या झेल्दै आएका गोरखा भुम्लिचोक गाविस–८ हुइलिङबेसीका बालिकालाई सुरक्षित यात्राका लागि यस्तो सामग्री वितरण गरिएको हो । लामो समयदेखि नेपाल बस्दै आएकी अस्ट्रेलियाली लिन्डेल केइन र ट्रिनिटी कलेज काठमाडौँमा अध्ययनरत विद्यार्थीको समूह ‘सहयोगका लागि पहिलो पाइला’का तर्फबाट याङ्ला नाओमी र चलचित्र निर्माता एवम् कलाकार अमित ढुङ्गानाले बिग रिभर ट्युब, प्याडल, वाटरप्रुफ ब्यागसहितको ८० हजार बराबरको सामग्री त्रिशूली किनारमै पुगेर प्रदान गरेकी हुन् ।
त्यस्तै मस्टो आउट डोर्सका रमेश कुँवरले एक थान पम्प र धादिङ घर भई काठमाडौँस्थित आउटडोर हिमालयन ट्रेक्समा कार्यरत बद्री अर्यालले दुई थान लाइफ ज्याकेट उपलब्ध गराएका थिए । धादिङ कुम्पुर–आदमटार घर भई काठमाडौँस्थित क्यारियर इन्टरनेसनल सर्भिसका प्रबन्ध निर्देशक श्यामचन्द्र खतिवडाले चार घरका निम्ति २० वाट क्षमताका चार थान सोलार बत्ती पनि उपलब्ध गराएका छन् । नास्टका प्राज्ञ जगन्नाथ श्रेष्ठले दुई थान सोलार ल्याम्प, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक गङ्गा सुवेदी र पूर्वउपाध्यक्ष रामचन्द्र रुपाखेतीले एक वर्षलाई पुग्ने शैक्षिक सामग्री र विद्यालय पोसाक प्रदान गरे ।
चार घर मात्र भएको हुइलिङबेंसीको चेपाङ बस्तीमा हालसम्म राज्यको कुनै पनि सेवासुविधा पुगेको छैन । पृथ्वी राजमार्गबाट त्रिशूलीनदी पारि गोरखा जिल्लामा पर्ने सो स्थानमा हालसम्म टुकी बालेरै घर उज्यालो बनाउँदै आएका सीमान्तकृत चेपाङ समुदायका चार घरलाई सोलार बत्ती सामग्री उपलब्ध गराएक खतिवडाले आफ्नो खाजा कटाएर गरेको बचतले उनीहरुको घर उज्यालो बनाउन पाएकामा खुसी व्यक्त गरेका छन् । रासस