जनबोली/३ फागुन, पुतलीबजार । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सडकबाट संविधान बनाउँछु भनेर एमाओवादीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
स्याङ्जाको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा उनले शान्ति सम्झौताको अभिन्न अंग संविधान निर्माण भएकोले संविधानमा अवरोध नगर्न एमाओवादीलाई सुझाव दिए ।शान्ति सम्झौता र विगतका सहमति कार्यान्वयन गर्न भन्ने एमाओवादीले आफूले चाहिँ पालना गरेको छ की छैन भनेर ध्यान दिनुपर्ने बताए ।
उनले संविधान ल्याउन नदिने एमाओवादीको कामको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
‘संविधानसभा निर्वाचनमा भाग पनि लिने, नियमावली पनि बनाउने तर संविधान निर्माणमा सहयोग नगरेका कारण संविधान बन्न सकेको छैन,’ सिंहले भने, ‘गलत कामको भण्डाफोर गर्नुस् ।’
स्थानीय विकास मन्त्री समेत रहेका सिंहले आइतबार बिहान स्याङ्जा सदरमुकाममा आयोजित अर्को एक कार्यक्रममा विकास निर्माणलगायतका काम छिटो, छरितो र पारदर्शी रुपमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।