यसरी भएको थियो बलात्कारपछि हत्या

जनबोली/३ फागुन, काठमाडौं । भारतमा नेपाली युवतीको बलात्कारपछि भएको हत्याका एक अभियुक्तले आत्महत्या गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ ।
भारतको हरियाणा राज्यमा पर्ने रोहतक जिल्लामा २८ वर्षीया नेपाली महिलाको सामुहिक बलात्कार भएपछि हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा ९ जनाको समूहले ती युवतीलाई झण्डै तीन घण्टा बलात्कार गरेको खुलेको छ ।
स्पेसल अनुसन्धान टीमका प्रमुख अमित भाटियाका अनुसार अनुसन्धानका क्रममा सन्तोष नाम गरेका नेपाली नागरिक पनि पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार फेब्रुअरी १ का दिन साँझ ७ बजेतिर नेपाली महिला खेदी गद्दी गाउँमा पुगेकी थिइन् । जहाँ उनलाई सडक नजिक रहेको शीला होटलमा रहेका पाँच युवाले देखेपछि पछ्याए र नियन्त्रणमा लिए । त्यसबेलासम्म दुई युवक थपिएका थिए ।
उनीहरुले नेपाली महिलालाई खेत नजिकैको एक घरको कोठामा लगेर बलात्कार गरे । उनीहरुले फोन गरेर अन्य दुई साथीलाई समेत बोलाए र सामुहिक बलात्कार गरे ।

राष्ट्रिय राजमार्ग नजिकैको घर भएकाले गाडीको लाइट कोठासम्म आइपुग्ने भएका कारण असुरक्षित महसुस गरेपछि उनीहरुले महिलालाई अर्को घरमा लगे । उनीहरुले ती महिला बेहोस हुँदासम्म बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
बलात्कारपछि महिलालाई छाड्दा उनले प्रहरीलाई भन्ने र आफूहरु पक्राउ पर्ने डर भएपछि बलात्कारीहरुले उनको हत्या गर्ने योजना बनाए । उनीहरुले महिलालाई बहु अकबरपुर भन्ने गाउँ नजिकै पुर्याए र ईँटाले हानेर हत्या गरे ।
मृतक नेपाली महिलाको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार महिलाको यौनाङ्गमा कन्डम भेटिएको छ । घटना भएको चार दिनपछि प्रहरीले शव भेटाएको थियो, जुन शव फेब्रुअरी १ मा हराएकी नेपाली महिलाको थियो ।
बलात्कारपछि हत्या गरेको देखिएपछि प्रहरीले अभियुक्तहरुबारे जानकारी दिनेलाई १ लाख भारु दिने घोषणा गर्यो । ८ फेब्रुअरीमा प्रहरीलाई २ जनाबारे सूचना प्राप्त भयो, जुन युवती बस्ने गरेको गाउँका युवा थिए ।
प्रहरीले उनीहरुको गतिविधि निगरानीमा राख्नुका साथै फोन कल डिटेल अध्ययन गरेको थियो । प्रहरीले उनीलाई पक्राउ गरेपछि घटनाबारे सबै खुलेको छ र ९ फेब्रअरीमा उनीहरुसहित आठ अभियुक्त पक्राउ परे ।
घटनामा संलग्न ८ जना पक्राउ परेको खबर सार्वजनिक भएको केही घण्टापछि सोमवीर नाम गरेका नवौं अभियुक्तले भने आत्महत्या गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
तस्वीरः दैनिक भास्कर