टोकियो । नेपालमा पहिचानसहितको संघीयताको माग गर्दै आन्दोलन गरिरहेको पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई जापानबाट ४ लाख ७० हजार सहयोग पठाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जापानको आव्हान अनुसार जातीय पहिचानसहितको राज्य र हकअधिकार सुनिश्चित गर्नका लागि चेतना अभिवृद्धि कोषमा जम्मा प्राप्त भएको रकम नेपाल पठाइएको हो ।
राजनीतिक दलहरुले भोलि हुनसक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सिमान्तकृत अन्य अल्पसंख्याक समुदाय तथा पिछडिएका वर्गहरुको हकहितअधिकारलाई सुनिश्चित गर्नुपर्ने समेत माग गरेको छ ।
विगतमा विभिन्न पक्षहरुसँग पटक–पटक गरिएका सहमति र ंअन्तरिम संविधानको मर्मअनुसार अब बन्ने संविधान सभावेशी नभएमा आदिवासी जनजाति महासंघ जापानले प्रतिकार गर्ने समेत जनाएको छ ।
महासंघले अहिले भइरहेको आन्दोलन कुनै कुनै धर्म संस्कृति वा समुदाय विशेषको विरुद्धमा नभएको भन्दै न्यायप्रेमी, समानता प्रेमी र उत्पीडितवर्ग, जाति, लिङग, क्षेत्रका सबै नेपालीहरुलाई नैतिक, आर्थिक एवं भौतिक सहयोग गरिदिन समेत महासंघ जापानले आग्रह गरेको छ ।