30dalजनबोली/३ फागुन, राजविराज । प्रमुख प्रतिपक्षी एकीकृत माओवादी तथा मधेशवादीसहितको ३० दलीय मोर्चाका कार्यकर्ताहरुले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि ४ घण्टा धर्ना दिएका छन्।
बिहान १० नबज्दै उपस्थित भएका मोर्चाका कार्यकर्ताले कार्यालय अगाडिको मूल सडकमै बसेर नाराबाजी गर्दै धर्ना दिएका हुन्। कार्यालय अगाडि सडकमै आन्दोलनकारी बसेपछि काम गर्न आएका कर्मचारी भने फर्केर गएका थिए। आन्दोलनका कारण सेवाग्राहीको कामकाजसमेत प्रभागित भएको छ। गाउँ गाउँबाट विभिन्न प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय आएका सेवाग्राहीहरु त्यसै फर्किन बाध्य भएका छन्।

आन्दोलनकारीको कार्यक्रमलाई मध्यनजर गरी कार्यालय परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै गएको सडकमा दुबैतिरबाट प्रहरीले बिहानैदेखि ब्यारिकेट लगाएर बाटोसमेत अवरुद्ध पारेका छन्।

केन्द्रबाट निर्धारित कार्यक्रमअनुसार नै सप्तरीमा पनि आफूहरुले धर्ना दिएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाले बताए। धर्नामा फोरम नेपालकी केन्द्रीय कोषाध्यक्ष रेणुकुमारी यादव, एमाओवादीका केन्द्रीय सदस्य रामरिझन यादव, सभासद उमेशकुमार यादवसहितकाहरुको पनि उपस्थिति थियो।

सम्बन्धित खबरहरु