South-Africa-vs-Zimbabweकाठमाडौं । अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा चलिरहेको विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।

समूह बीमा रहेको दक्षिण अफ्रिकाले आइतबार भएको खेलमा जिम्बाबेलाई ६२ रनले पराजित गरेको हो । हेमिल्टनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ३४० रनको लक्ष्य पछ्याएको जिम्बाबे ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २७७ रनमात्र जोड्न सक्यो ।

जिम्बाबेका लागि मासमकाजाले सबैभन्दा बढी ८० रन बनाए भने ओपनर चुबाबाले ६४ र ब्रेण्डन टेलरले ४० रन जोडे । दक्षिण अफ्रिकाका इमरान ताहिरले ३ तथा मोर्ने मोर्केल र भरुन फिल्लेन्डरले समान २–२ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले खराब सुरुवातका बाबजुत उच्च स्कोर खडा गरेको थियो । ८३ रन जोड्दा चार विकेट गुमाइसकेको दक्षिण अफ्रिकाका डेभिड मिलर र जित पाउल डुमिनीले पाँचौ विकेटका लागि अविजित २ सय ५६ रनको साझेदारी गरेपछि चार विकेट गुमाएर ३ सय ३९ रन बनायो ।

आक्रामक ब्याटिङ गरेका मिलरले ९२ बलमा सात चौका र नौ छक्काको मद्दतमा अविजित १ सय ३८ रन र डुमिनीले १०० बलमा नौ चौका र तीन छक्कासहित अविजित १ सय १५ रन बनाए ।

जिम्बाबेका पान्यननार, चतारा, चिगाम्बारा र कामान गोजिले समान १–१ विकेट लिए ।

सम्बन्धित खबरहरु