जनबोली/३ फागुन, पोखरा । पश्चिमाञ्चल भलिबल सङ्घको आयोजनामा यही फागुन ७ देखि १३ गतेसम्म पोखरा रङ्गशालामा २९औँ राष्ट्रिय पुरुष तथा चौथो अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी र त्रिभुवन विश्वविद्यालयका टिम गरी नौ टिमको सहभागिता रहनेछ ।
त्यस्तै, अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, न्यू डाइनामिक एकेडेमी, पश्चिमाञ्चल विकास क्षेत्र र भारतको उत्तर प्रदेश गरी ६ टिमको सहभागिता रहने सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब रु २८ लाख खर्च लाग्ने बताइएको छ । रासस