४ फागुन, काठमाडौं । एमाले नेताहरूको जिम्मेवारी तोक्न बसेको स्थायी कमिटीको बैठकमा पेस गर्न महासचिव ईश्वर पोखरेलले तयार पारेको कार्यविभाजन प्रस्ताव ‘एकलौटी’ भन्दै माधव नेपाल पक्षका पदाधिकारीले विरोध जनाएका छन्।
सचिवालयले तयार पारेको प्रस्ताव महासचिवले प्रस्तुत गर्ने विधान व्यवस्थाविपरीत सचिवालय बैठकै नराखी एकलौटी तयार पारेको आरोप लगाउँदै विरोध भएपछि आइतबारको बैठक नीतिगत बहसमै अड्केको छ। प्रस्ताव सोमबार १२ बजे बस्ने बैठकमा प्रस्तुत हुने सचिव पृथ्वीसुब्बा गुरुङले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
गुरुङका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका तर्फबाट पनि महासचिवले प्रस्तुत गर्ने भएकाले सचिवालय बैठकबाटै प्रस्ताव तयार गर्नु अनिवार्य नहुने बताएका थिए। तर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालय बैठकमा छलफल गरी प्रस्ताव तयार पार्नु विधानअनुसार हुने बताएका थिए।
खनाल, नेपाल र उपाध्यक्ष वामदेव गौतमले सचिवालयमा छलफल गरी सबै पक्षलाई सन्तुलित बनाएर प्रस्ताव ल्याउनुपर्ने बताएका थिए। ओलीले भने स्थायी कमिटी र पोलिटब्युरो सहमतिमै बनाएकाले कार्यविभाजन पनि प्यानलका आधारमा हुनुपर्छ भन्ने अडान नराख्न आग्रह गरे।
एमालेका अर्का सचिव योगेश भट्टराईले महासचिव पोखरेलले सचिवालयको बैठक राखेर छलफल गरी तयार पारेको प्रस्ताव संगठन विभागमा लानुपर्ने विधानको अनिवार्य व्यवस्था भएको दाबी गरे। उनले भने, ‘महासचिवले बनाएको एकलौटी प्रस्ताव हामी मान्दैनौं। सचिवालयलाई अपमानित गरी ल्याएको अव्यावहारिक कार्यविभाजनप्रति हाम्रो सहमति हुँदैन।’
महाधिवेशनको सात महिना बितिसक्दा पनि पार्टीको १२ वटा विभाग, मन्त्रालयसँग सम्बन्धित २४ वटा विभाग प्रमुख, अञ्चलको हैसियतका १७ कमिटीका इन्चार्ज तोक्न बाँकी छ।
७५ वटा जिल्ला र जिल्ला कमिटीस्तरका पाँचवटा पेसागत कमिटीका इन्चार्ज गरी ८० जना केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोक्ने जिम्मा केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको छ।
विधानअनुसार सम्पूर्ण विभागको इन्चार्ज महासचिव हुने व्यवस्था छ। खनाल र नेपालले विभाग लिन नहुने तर्क दोस्रो पुस्ताको युवानेताको छ। तर विदेश विभाग प्रमुखमा खनाल र नेपाल दुवैले रुचि देखाएका छन्।