जनबोली/४ फागुन, काठमाडौं । संविधानसभाले अगाडि बढाएको प्रक्रिया खारेजीको माग गर्दै अहिले आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी रणनीति बनाउनमा व्यस्त छ ।
सत्तापक्षको ‘बहुमतको दम्भ’ले समावेशी संविधान बन्न नसक्ने एजेण्डा सहित एमाओवादी आफ्नो मोर्चा खडा गरेर आन्दोलनमा जाने तयारी गरिरहेको छ । संविधानसभामा माघ ११ गते विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइएको थियो । प्रक्रिया अगाडि बढाएपछि एमाओवादीले संविधानसभामै जान छोडेको छ ।
सत्तापक्ष दलहरु संविधान बनाउने कुरा गरिरहेछन् भने एमाओवादी लगायतका विपक्षी दलहरुको मोर्चा आन्दोलन तयारी गरिरहेका छन् । सत्तारुढ दलका नेताहरु प्रक्रिया र सहमतिसँगै लैजान चाहन्छन् यद्यपि माओवादीसहितको मोर्चा सहमतिको रटान लगाइरहेको छ । सहमतिको नारा लगाइरहे पनि भित्रभित्र भने एमाओवादीले आन्दोलननै बुनिरहेको उसका गतिविधिले देखाएको छ । एमाओवादी स्रोतका अनुसार, पहिलो चरणको आन्दोलनमा देशमा सबै सहरमा पुगेर नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।
पार्टीका तीन शिर्ष नेता प्रचण्ड–बाबुराम र नारायणकाजीले भुगोल अनुसार कमाण्डरको जिम्मेवारी सम्हालेका छन् ।
जसअनुसार प्रचण्ड मध्य कमाण्डर छन् । बाबुराम पश्चिम कमाण्डर छन् भने नारायणकाजी पूर्वका कमाण्डर हुन् । तिनै शिर्ष नेताहरु आन्दोलन तयारीका लागि कार्यकर्ता प्रशिक्षणको कमाण्ड सम्हाल्न तोकिएको क्षेत्रमा गइसकेका छन् ।
प्रचण्ड मध्य कमाण्डर भएकाले काठमाडौंमै प्रशिक्षण दिनमा व्यस्त छन् । बाबुराम पश्चिमको कञ्चनपुर पुगेर हुम्ला, जुम्ला पुगेका छन् । नारायणकाजी पनि झापातिर पुगिसकेका छन् ।
शिर्ष मध्येका दोस्रो तहका नेताहरु पनि देश दौडाहामा छन् । अब यहाँनेर एमाओवादीले आफ्ना कार्यकर्तालाई शिर्ष नेता खटाएर कस्तो प्रशिक्षण दिदैछ त ? स्रोतका अनुसार एमाओवादीले सडक संघर्ष गर्ने, नभए हतियार समेत उठाउनका लागि तयार रहन कार्यकर्ता निर्देशन दिदै आइरहेको छ ।
विगतमा १० वर्षे जनयुद्ध गरेर हजारौ नेपाली मारेको तत्कालिन माओवादी अहिले फरक धारमा रहेको एमाओवादीले फेरी पनि हतियार उठाउने प्रशिक्षण दिइरहेको हो । नेपालीहरु हिंसा चाहदैनन् । शान्ति र स्थायित्व संविधान विकासको पर्खाइमा नेपाली पिढीको वर्षाे वितिसक्यो तर अहिलेपनि एमाओवादीले आन्दोलन गर्ने कुरा गरिरहेको छ ।
माओवादीले कार्यकर्तालाई सैन्य तालिम, सडक संघर्ष, समानान्तर सरकार, सरकारी कार्यालय कब्जा लगायतका विषयमा गोप्य प्रशिक्षण समेत दिइरहेको छ । अब माओवादीले हतियार उठाउला त ? प्रश्न उब्जिएको छ । १० वर्ष हतियार उठाएर उपलब्धि के भयो ? भन्ने प्रश्न पनि नेपाली जनताले माओवादीलाई मनमनै सोधिरहेका छन्।
माओवादीसंग भएको प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताले पनि एमाओवादीले सहमतिमा आउनुपर्ने हो । तर संविधानको साटो जनतालाई अझै दुःख दिने गतिविधी गर्न माओवादी लागिरहेको छ ।
अहिले अवस्थामा एमाओवादीले आन्दोलन छाडेर सहमतिमा आउनु नै उत्तम हुनेछ । सम्पूर्ण जनताको हकअधिकार सुनिश्चित हुने संविधान बनाउन भुमिका खेल्नुपर्छ । आन्दोलनले कसैलाई फाइदा नपुग्ने हुदा सहमतिबाट संविधान बनाउने प्रक्रियामा सहभागि हुनु एमाओवादी लगायतका प्रतिपक्षी दलहरुको लागि सहि बाटो हुनेछ । किनकी मधेशवादी दलहरु पनि सहमतिको पक्षमा छन् । तर उनीहरु सहमतिका लागि आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा छैनन् ।