mahendra ratnaजनबोली/४ फागुन, इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा पठनपाठन हुँदै आएको नेपालको एक मात्र बागवानी तथा पुष्प विज्ञान व्यवस्थापनको पढाइ एक सातादेखि ठप्प भएको छ ।

यस विषयका विद्यार्थीले क्याम्पस प्रशासनलाई विद्यार्थीको समस्यामा ध्यानाकर्षण गराउन भन्दै माघ २५ गतेदेखि पठनपाठन ठप्प बनाएका हुन् । विद्यार्थीको समस्याका बारेमा बारम्बार क्याम्पस प्रशासनलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि पठनपाठन बन्द गर्न बाध्य हुनु परेको प्रकाश अर्यालले बताए ।

विभागको शिक्षक समयमा नियुक्ति गर्नुपर्ने, क्याम्पसले लोकसेवा आयोगमा सहभागिताका लागि तथा कृषि अनुसन्धान केन्द्र (नार्क)मा पहल थाल्नुपर्ने, शैक्षिक सामग्री पर्याप्त उपलब्ध गराउनुपर्ने, व्यवस्थित छात्रबास हुनुपर्ने, क्याम्पसको पढाइ हुने ठाउँ र पढाउने शिक्षकको क्वाटर क्याम्पसबाहिर हुनुपर्ने माग राख्दै विद्यार्थीले पठनपाठन ठप्प बनाएको विभागका सहायक प्रमुख विकास खनालले बताए ।
हप्तादिनसम्म पठनपाठन बन्द हुँदा पनि पढाइ सञ्चालनका लागि क्याम्पस प्रशासनले कुनै चासो नदेखाएको विद्यार्थीको आरोप छ ।

पठनपाठन अवरुद्ध भएको बारे आफूलाई जानकारी नभएको बताउँदै क्याम्पसप्रमुख राजेन्द्र कुँवरले बागवानीको पढाइमा देखिएका समस्याप्रति क्याम्पस प्रशासन गम्भीर रहेको बताए । रासस

सम्बन्धित खबरहरु