जनबोली/४ फागुन, म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दु धर्मालम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालिग्राम, शङ्खचक्र, नागमणि देखिएका छन् ।
मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायत हिन्दु धर्मशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए ।
“मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिका प्रतीकहरु देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्”–उने बताए ।
विकास कोषले संरक्षणका लागि रङ्ग लगाउनुका साथै आसपासका क्षेत्रमा खोजी कार्यसमेत सुरु गरेको छ । मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ गएर पूजा गर्न थालेका छन् ।
पुजारीका अनुसार आकार दिनप्रतिदिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।
गत हप्ता गलेश्वर भ्रमणमा आएका उपराष्ट्रपति परमानन्द झाले समेत आश्चर्य प्रकट गर्दै संरक्षणमा सक्रियता देखाउन कोषलाई अनुरोध गरेका थिए । विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहलसमेत भइरहेको छ ।
गलेश्वर क्षेत्रको विकासका लागि राज्य तथा स्थानीयवासीका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् ।