एमाले केन्द्रीय कमिटीमा को-को थपिँदै ? (सूची सहित)

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ४ फाल्गुण, २०७१

‘नेपाल पक्ष महासचिवको प्रस्ताव पर्ख र हेरको रणनीतिमा’

uml central committe

फाईल फोटो

जनबोली/४ फागुन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १४ जना नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि आज स्थायी कमिटी बैठकमा प्रस्ताव पेश हुने भएको छ ।

अपरान्ह केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी तथा कार्य बिभाजन पनि तोक्ने सचिव योगेश भट्टराईले बताए ।

बिधानअनुसार केन्द्रीय सचिवालयमा छलफल भएर सचिवालयको तर्फबाट प्रस्ताव पेश हुनुपर्नेमा महासचिव र्इश्श्वर पोखरेलले सिधै बैठकमा ल्याउन लागेकाले आफूहरुलाई प्रस्तावबारे थाहा नभएको उनले बताए ।

‘सचिवालयबाट आउनुपर्ने हो, तर महासचिवले सिधै पेश गर्ने भनेकाले यसमा हाम्रो आपत्ति छ,’ भट्टराईले भने, ‘अब बैठकमा उहाँले पेश गर्ने प्रस्ताव कस्तो आउछ त्यस अनुसार बिरोध वा समर्थन हुन्छ ।’

माधव नेपाल पक्षले कार्य बिभाजनमा आफ्नो पक्षका नेताहरुलाई भेदभाव गरिएमा स्वीकार नगर्ने जानकारी संस्थापन पक्षलाई गराएको छ ।

स्रोतका अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनको प्रस्तावमा पनि नेपाल पक्षले आफ्नो पक्षबाट कम्तिमा ८ जना हुनुपर्ने अडान लिएको छ ।

बिधान अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्दा १६ जना गर्नुपर्नेमा यसअघि नै बराबरी मत पाउने दुई थप केन्द्रीय सदस्य निर्वाचित भइसकेकाले १४ जना मनोनित हुने अर्का सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

को-को थपिँदैछन् ?

महासचिव र्इश्वर पोखरेल निकट स्रोतका अनुसार १४ केन्द्रीय सदस्य मनोनयनका लागि ९ पूर्ण र ५ बैकल्पिकको नाम तय भइसकेको छ ।

महासचिवले प्रस्तावित गरेका नाममा पूर्ण सदस्यका लागि घनेन्द्र बस्नेत, कृष्णगोपाल श्रेष्ठ, देवराज घिमिरे, केदार न्यौपाने, राजेन्द्र राई, बिजय सुब्बा, विनोद ढकाल, देवशंकर पौडेल र झपेन्द्र जिसी छन् ।

त्यस्तै बैकल्पिकमा झपट रावल, रुपनारायण श्रेष्ठ, रन्जु ठाकुर, विदुर सापकोटा, सरला यादव, हरि पराजुली र खेमचन्द्र ढकाल मध्येबाट छानिने स्रोतले जनाएको छ ।

पूर्ण केन्द्रीय सदस्यहरुको प्रस्तावित नाममा नेपाल पक्षले बिरोध जनाउने भएको छ । प्रस्तावित नाममा देवशंकर पौडेल र झपट रावलबाहेक अधिकांश ओली पक्षका हुन् ।

बिजय सुब्बा संघीय समाजवादीको बरिष्ठ उपाध्यक्ष छाडेर एमाले फर्किएका हुन् । उनलाई पोलिटव्यूरो सदस्य बनाइने सम्भावना छ । संघीय समाजवादीमा जानुअघि पनि उनी पोलिटव्यूरो सदस्य थिए ।

बैठकमा पदाधिकारी, स्थायी समिति सदस्य, पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुको कार्य बिभाजन प्रस्तावमाथि छलफल हुने सचिव गुरुङले बताए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७