पुरोहित हुनेछन् बरिष्ठ साहित्यकार तथा संस्कृतिविद डा. मोदनाथ प्रश्रित

जनबोली/४ फागुन, काठमाडौं । नेकपा एमालेले कार्यकर्ताहरुलाई जनवादी विवाहमा प्रोत्साहित गर्ने क्रममा नवौं महाधिवेशन पछि माथिल्लो तहमै दोस्रो जनवादी विवाह आयोजना गरेको छ ।

एमाले सम्बद्ध अनेरास्ववियुका दुई केन्द्रीय नेताको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर जनवादी बिहे आयोजना गरिएको हो ।

अखिल महासचिव नविना लामाका अनुसार अनेरास्ववियुका सचिव महेश वर्तौला र केन्द्रीय सचिवालय सदस्य अमृता बरालबीच मार्क्सवादी मान्यता अनुरुप बिहे हुन लागेको हो ।

Mahesh-Amrita
महेश वर्तौला र अमृता बराल

जनवादी विवाहको प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली हुनेछन् भने मार्क्सवादी पुरोहित हुनेछन् बरिष्ठ साहित्यकार तथा संस्कृतिविद डा. मोदनाथ प्रश्रित ।

खर्चिलो र भड्किलो बिहे गर्ने संस्कारले नयाँ पुस्तालाई भ्रष्टीकरणतर्फ लगेकाले वर-बधू दुवैको इच्छा र पार्टीको स्वीकृतिमा जनवादी विवाह आयोजना गरिएको महासचिव लामाले जानकारी दिइन् ।

‘यो विवाह समारोह संगठनकै तर्फबाट आयोजना गरिएको हो’ लामाले अनलाइनखबरसँग भनिन् ‘यसले भड्किलो र खर्चिलो ढंगले बिहे गर्ने शैलीलाई चुनौति दिनेछ’ ।

मकवानकपूर निवासी वर्तौंला मकवानपूर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति हुन् भने बराल वीरगन्ज नर्सिङ क्याम्पसकी स्ववियु सभापति हन् ।

एमालेले यसअघि  पार्टी केन्द्रीय सदस्य रचना खड्का र युवा नेता लेखनाथ पौडेलको विवाह पनि जनवादी ढंगले आयोजना गरेको थियो ।

एमालेमा तल्लो तहका कार्यकर्ताहरुबीच पनि जनवादी विवाहको प्रचलन पछिल्लो समयमा घट्दै गएकाले पार्टीबाटै प्रोत्साहनको नीति लिइएको केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

सम्बन्धित खबरहरु