prachandaजनबोली/४ फागुन, काठमाडौं । एमाओवादीसहित विपक्षी मोर्चाका लागि आन्दोलन अग्निपरीक्षा भएको छ। आन्दोलनबाट 'शक्ति प्रदर्शन' गर्न नसके कमजोर भएको ठानिनेछ। त्यसकारण पहिलो चरणको आन्दोलन सकिने फागुन १६ मा शक्ति प्रदर्शन गर्नु एमाओवादीका लागि सर्वरूपी बाध्यता हो।

एमाओवादीको बुझाइ छ, यसपटक चुकेमा कांग्रेस, एमालेले झन् पेल्नेछन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन सशक्त बनाउन सके मुलुकको राजनीति फेरि आफ्नो वरिपरि आउने बताएका छन्। 'अहिले राष्ट्रिय राजनीति हाम्रो नेतृत्वको मोर्चाको वरिपरि ल्याउने अवसर आएको छ। त्यसलाई गुम्न नदिऔं। अहिले पनि कांग्रेस, एमालेसँग भन्दा धेरै जनताको मत हामी १९ दलसँग छ,' दाहालले आइतबार पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षणमा भने, 'फेरि त्यस्तो अवसर प्राप्त गर्न कठिन छ।'

आन्तरिक रूपमा कांग्रेस, एमालेसँग वार्ता भइरहे पनि बाहिर आन्दोलन चर्काएर देखाउने पक्षमा विपक्षीहरू छन्। उनीहरूले 'सहमतिका आधारमा संविधान जारी गर्ने' मूल नारा अघि सारेका छन्। संविधानसभाभित्र बहुमतीय प्रक्रिया अनिश्चित समयका लागि स्थगित भएको छ। विपक्षी मोर्चाले सहमतिका आधारमा संविधान बनाउन दबाब दिँदै एक महिनाअघि आन्दोलन घोषणा गरेका थिए।

विपक्षी मोर्चाले राजधानी वरिपरिका जिल्लाबाट फागुन १६ मा ठूलो संख्यामा मानिस बटुल्ने तयारी गरेको छ। दाहालले आन्दोलनकै तयारीका लागि पश्चिम नेपाल गएका नेता बाबुराम भट्टराईलाई फोन गरी नवलपरासी, चितवन, गोरखा, तनहुँ र कास्कीमा केन्दि्रत हुन अह्राएका छन्। त्यस्तै, पूर्व गएका उपाध्यक्ष नाराणकाजी श्रेष्ठलाई राजधानी

केन्दि्रत आन्दोलनका लागि तयारी गर्न भनेका छन्।

'संविधानसभा बहुमतीय प्रक्रियामा अघि बढेपछि विपक्षीको कुनै स्थान नरहेकाले' आन्दोलनमा उत्रिनुपरेको सचिव वर्षमान पुनले बताए। आन्दोलनमा उत्रिए पनि दलहरूबीच सहमति हुनेमा सम्भावना नटरेको उनको बुझाइ छ।

प्रधानमन्त्री सुशील कोइराला र दाहालबीच भएको छलफल सकारात्मक भए पनि दाहाल विश्वस्त हुन नसकेको निकट नेताहरूले बताए। दाहालले कोइरालालाई सहमतिका लागि एमालेसँग छलफल गर्न भनेका छन्। दाहाललाई अझै सत्तापक्ष वार्ताको कुरा गरेर आन्दोलन कमजोर पार्ने रणनीतिमा लागेको आशंका छ। उनी संवैधानिक परिषद् बैठकमा सहभागी भए पनि अझै औपचारिक वार्तामा बस्न मानेका छैनन्। 'सत्तापक्षले वार्तालाई आन्दोलन कमजोर पार्ने दाउपेचका रूपमा लिएको अध्यक्षले बुझ्नुभएको छ,' एक नेताले भने। सत्तापक्षले अन्तर्राष्ट्रिय समुदायसँग एमाओवादीसहित विपक्षी मोर्चा कमजोर भएको बि्रफिङ गरेको जानकारी आफूले पाएको दाहालले आइतबारको प्रशिक्षणमा बताए। 'राष्ट्रसंघ, युरोपियन युनियन, अमेरिका, भारत र चीनलाई समेत कांग्रेस, एमालेका सुशील, केपी र सिटौला प्रवृत्तिले माओवादी सकियो भनेर बि्रफिङ गरेका छन्। मोर्चा, आन्दोलनमा विवाद छ भनेका छन्,' दाहालले भनेे, 'आन्दोलन सफल हुँदैन, दबाउन सकिन्छ भनेका छन्। त्यसैले पनि अन्तर्राष्ट्रिय समुदायले १६ फागुनलाई हेरेका छन्।'

दाहालले पहिलो चरणको आन्दोलन प्रचारात्मक भए पनि फागुन १६ को सभा विशाल बनाउनु चुनौती रहेको बताए। 'हामीले प्रचारात्मक, क्रियात्मक र निणर्ायक चरणका आन्दोलन गर्ने योजना बनाएका हौं, तर अन्तर्राष्ट्रिय समुदाय र कांग्रेस-एमालेभित्रका सहमतिका पक्षधरहरूले १६ फागुनको हाम्रो सभा हेर्न चाहेका छन्,' उनको भनाइ थियो, 'दुनियाँले फागुन १६ लाई निणर्ायक रूपमा बुझ्यो। त्यसदिन कमजोर शक्ति प्रदर्शन भए कांग्रेस-एमालेका यथास्थितिवादीहरूले संविधान निर्माणको प्रक्रिया बहुमतबाट अगाडि बढाउनेछन् ।'

सम्बन्धित खबरहरु