जनबोली४ फागुन, फत्तेपुर । साउन अन्तिम साता आएको भीषण बाढीले फत्तेपुर ८ जोरैयाका बुद्धिराम थारुको धान खेत बग्यो। जहान-परिवारसँग राति घरमा सुतिरहेका उनी धन्न बाँचे। उर्लिएको राप्तीले धान खेत बगर बनाएपछि समस्यामा परेका बुद्धिराम अहिले त्यही बगरमा रहरिला सपना साँचेर तरकारी स्याहारमा लागेका छन्।

‘जमिनदार’ त होइनन्, तर कुनै बेला उनी हुनेखाने परिवारका घरमूली थिए। हेर्दाहेर्दै सारा खेत बगायो र त्यसलाई बालुवामा परिणत गरिदियो। उनको हातमा अहिले पनि जग्गाधनी पुर्जा छ। तर जग्गा कुन हो? ठम्याउन नसकेर उनी बिखलबन्दमा छन्।

‘साढे तीन बिघा पक्की जग्गा राप्तीले खायो,’ उनले भने, ‘म नदीवारि छु। जग्गा पारि छ। त्यहाँ जान सकिँदैन। त्यसैले अहिले अर्काको जग्गामा बगर खेती गरेर हातमुख जोर्ने प्रयास गरिरहेको छु।’

नदीपारि परेको उनको जग्गामा जान उत्तरमा रहेको सिधनहवास्थित पक्की पुल तरेर जानुपर्छ। त्यहाँबाट जाँदा मुस्किलले ४ घण्टा जतिमा पुगिन्छ। त्यो जग्गामा पनि बालुवा भरिएकाले धान र गहुँलगायत बाली उत्पादन हुँदैनन्। त्यसैले अर्काको जमिन भाडामा लिएर बुद्धिरामले बगर खेती गरेका हुन्। केही संघसंस्थाले आर्थिक र प्राविधिक सहयोग गरेपछि बगरमा तरकारी लगाउन थालेको उनले बताए।

बगरमा खरभुझा, तरभुझा, करेला, सखरखण्ड र लौका हुर्काउन थालेका छन्। बगरखेती गरेर फेरि आफ्नो भाग्य अजमाउन थालेका बुद्धिराम यो खेतीमा पनि जोखिम भएकाले रातदिन पालोपहरा दिइरहेको बताउँछन्। ‘बिरुवा प्लास्टिकले ढाकेर हुर्काउनुपर्छ,’ उनले भने, ‘हावा लागे प्लास्टिक उड्छ र त्यस्तोमा बोट मर्न सक्ने भएकाले एकजना कुरुवै बस्नुपर्छ।’

साउन २९ र ३० गते आएको विनाशकारी बाढीले राप्तीपारिको फत्तेपुरका सयौं किसान प्रभावित भए। खेत कटान र जग्गामा बालुवा पटान गर्दा उनीहरू समस्यामा परेका छन्। यसरी समस्यामा परेका किसान अहिले बाढीको पीडा भुलेर बगर र टनेल खेतीमा लागेका हुन्। तिनैमध्येका भक्तिराम पाण्डेले समूह बनाएर साढे ३ बिघामा खेती थालेको बताए। जोरैया बगर कृषक समूहका अध्यक्षसमेत रहेका उनले भने, ‘सरकारले नदी नियन्त्रणका लागि कुनै कार्यक्रम ल्याएन। अहिले खेती गरिरहेको बगरमा अर्को वर्ष नदी बगिरहेको हुन्छ।’

बाढीपीडित फत्तेपुर ८ जोरैया र लक्ष्मीराजपुरवासीले १७ वटा समूह गठन गरेर टनेल खेती गरेका छन्। एउटा समूहमा २० जना छन्। ३५ वटा टनेल बनाएर ३ सय ४० जनाले काक्रा, लौका, करेला लगाएका हुन्। टनेलभित्र लगाएका काक्राबाहेकका बेर्ना घरमा लगाउने तयारीमा छन्। एकजनाले एक कट्ठामा बेमौसमी तरकारी खेती गर्दै आएको स्थानीय किसान टीकाराम थारुले बताए।

बाढीपीडित किसानलाई सामूहिक टनेल र बगरखेती गर्न बाँके युनेस्को क्लबले सहयोग गरेको हो। उनीहरूलाई बीउ र प्राविधिक सहयोग गरेको क्लब अध्यक्ष प्रवेजअलि सिद्धिकीले बताए। ‘एउटा समूहमा ७ हजार बराबरको लगानी भएको छ,’ उनले भने, ‘परम्परागत रूपमा तरकारी खेती गरिरहेकालाई टनेल नयाँ हो।’ यसप्रति किसानको आकर्षण बढेको छ। पहिला तरकारी रोपेर छोड्ने चलन थियो। हिउँदमा अत्यधिक जाडो हुँदा अधिकांश तरकारीका बिरुवा मर्थे। तर, टनेलमा बिरुवा उत्पादन गर्दा त्यो समस्या हटेको लक्ष्मीराजपुरका चैनु थारुले बताए।

सम्बन्धित खबरहरु