जनबोली/४ फागुन, कपिलवस्तु । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा विष राखेर चरा मार्ने क्रम बढेको छ। चरा पर्यटनको राम्रो गन्तव्य बन्दै गएका बेला तालमा आइतबार ६ वटा चरा मृत फेला परेका छन्। दक्षिणतिरको ताल छेउमा ४ वटा मरुल र २ वटा सुनजुरे हास प्रजातिका चरा मरेको तालका पूर्व हेरालु मनोज परियारले बताए। ६०/७० मिटर पर मरेका ८/१० वटा चरा थिए। तिनलाई भने ल्याउन नसकेको उनले बताए।

चोरी सिकारी गर्ने स्थानीयले फट्याङ्ग्रामा सिरिन्जले विष भरेर ताल किनारमा लगी छाड्ने गरेका छन्। हावाले विष रहेको फट्याङ्ग्रामा बगाउँदै बीचमा लग्दा चराले खाएर लठ्ठ भई मर्ने गरेका छन्। मरेका चरालाई ताल छेेउमा गाडिएको छ। चोरी सिकारी गर्नेले चरालाई स्थानीय बजारमा लगेर बिक्री गर्ने गर्छन्। राति विष राखेर उज्यालो नहुँदै मरेका चरा ल्याउने गिरोह सक्रिय बन्दै गएका छन्। एक जोडी चराको ७ सयदेखि ९ सयसम्ममा बिक्री हुने गरेको छ।

विष राखेर मारिए साइबेरिया, रूस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्किस्तानलगायतका देशबाट आउने पाहुना चरा घट्ने नेचर गाइड कृष्ण गिरीले बताए। चराको आकर्षणले नै देश-विदेशमा धेरै पर्यटक आउने तालमा गैरकानुनी रूपमा चरा मार्नु दुःखद् भएको उनले बताए। यसले ताललाई नै संकटमा पार्ने उनी बताउँछन्। चरालाई विष खुवाएर मार्ने व्यक्ति पत्ता लगाई कारबाही गर्ने सहायक वन अधिकृत मोहन मिश्रले बताए। चोरी सिकारी निरुत्साहित गर्ने अभियान चलाई दोषीलाई कारबाही गर्ने जगदीशपुर ताल बहुसरोकार मञ्चका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी जगन्नाथ पन्तले बताए। चारैतिर जलपक्षी घटिरहेका बेला तालमा भने ४ वर्षदेखि सिमसारमा जलपक्षी बढ्दै गएको छ। गत वर्षभन्दा यस वर्ष २ हजार ७ सय २७ जलपक्षी बढेका छन्। विश्व सिमसार क्षेत्रमा सूचीकृत तालमा यस वर्ष चरा गणना गर्दा १७ हजार २५ जलपक्षी गणना गरिएको थियो।

सम्बन्धित खबरहरु