
जनबोली/४ फागुन, चितवन । इन्टरपोलको सहयोगमा मलेसियामा पक्राउ परेका दुर्लभ एकसिंगे गैंडा मारेर खाग तस्करी गर्ने ‘मोस्ट वान्टेड’ अभियुक्तलाई चितवन निकुञ्जले आइतबार सार्वजनिक गरेको छ। उनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको थियो। चितवन कोराक ९ कालीखोलाका ३१ वर्षीय राजकुमार प्रजालाई ल्याएर सार्वजनिक गरिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इन्टरपोल सहयोगमा उनलाई माघ १६ गते नियन्त्रणमा लिएको थियो। वन्यजन्तु अपराधमा पहिलोपटक इन्टरपोलमा ‘रेड कर्नर नोटिस’ जारी भएसँगै सर्वाधिक खोजीका उनलाई मलेसियन प्रहरीले क्वालालम्पुरमा पक्राउ गरी नेपाल सरकारलाई बुझाएको हो। गैंडा मारी खाग चोरी तस्करीमा संलग्न आरोपी प्रजाविरुद्ध १५ मुद्दा निकुञ्जले दायर गरेपछि मलेसिया पुगेका थिए।
उनलाई निकुञ्ज प्रशासन परिसरमा पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको हो। उनीविरुद्धका ६ मुद्दाको टुंगो लागिसकेको छ। ६ वटैमा उनलाई १५ वर्ष कैद र १ लाखका दरले जरिवाना तोकिएको छ। प्रजा गैंडा मार्ने गिरोहका मुख्य नाइके भएको निकुञ्जको दाबी छ। प्रजाको गोलीबाट २० गैंडा मरिसकेको, ५ घाइते बनाएको आरोप छ। उनले थप २ गैंडाको खाग बिक्री गरी आर्थिक लाभ लिएको निकुञ्जले आरोप लगाएको छ।
राजकुमारले नाम परिवर्तन गरी गोरखाबाट नयाँ नागरिकता लिएका थिए। त्यही नागरिकताबाट पासपोर्ट बनाई उनी मलेसिया पुगेका हुन्। ०६० देखि गैंडा सिकारमा संलग्न प्रजालाई निकुञ्जले ०६१, ०६४ र ०६५ मा पक्राउ प्रयास गरे पनि असफल भएको थियो। बारम्बार प्रयासपछि पनि पक्राउ गर्न नसकेपछि उनलाई नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा रेड नोटिस जारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताए। प्रहरीले विभिन्न जिल्लामा अत्यधिक खोजी गर्न थालेपछि उनले गोरखाबाट भक्तराज गिरीको नामबाट नागरिकता र राहदानी लिई वैदेशिक रोजगारीमा मलेसिया पुगेका थिए। कुख्यात गैंडा तस्करका रूपमा परिचित उनी पक्राउ परेसँगै निकुञ्ज संरक्षणकर्मी खुसी छन्। वन र वन्यजन्तुमा अपराध गर्ने तल्लो गिरोहलाई निकुञ्जले पक्राउ गर्दै आए पनि अन्तर्राष्ट्रिय गिरोहलाई नियन्त्रणमा लिन सकेको छैन।
‘अहिले पनि वन्यजन्तु चोरी सिकार पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन,’ सार्वजनिक कार्यक्रममा सहभागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टीकाराम अधिकारीले भने, ‘अभियान अहिलेकै गतिमा राखिए पूर्ण नियन्त्रण हुन्छ।’ यसलाई दीर्घकालीन बनाउनुपर्नेमा उनले जोड दिए। पहिलाको तुलनामा वन्यजन्तु यस वर्ष कम मरेको उनी बताउँछन्।
प्रजाले आफैंले २० गैंडा मारेको, ५ वटालाई घाइते बनाएको र अरूले मारेर दिएको २ खाग बेचेको स्विकारेका छन्। खाग बिक्रीबापत करिब ४०/४५ लाख कमाए पनि जोगाउन नसकेको उनले बताए। यसअघि गैंडा मारेको अभियोगमा निकुञ्जले प्रजा परिवारका ११ जनालाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाएको छ।