५ फागुन, काठमाडौं । खान नपाएका दीनहीनहरूका लागि पशुपतिको अन्नपूर्ण भण्डारा एउटा भरपर्दो गन्तव्य हो। यहाँ चौबिसै घन्टाजसो धुवाँमा डटेर दिनहुँ तीन सयजति गरिब र असहायलाई बिहान नास्ता र दिउँसो खाना खुवाउँछन् एकजना बाबा। जब शिवरात्री आउँछ, यहाँ खान आउनेहरूको संख्या हजारौं पुग्छ।
तीस वर्षदेखि पशुपतिनाथ मन्दिरछेउ अन्नपूर्ण भण्डारा चलाउँदै आएका तिनै पशुपति बाबा हिजोआज फोक्सोको क्यान्सरले पीडित छन्। तैपनि मंगलबारको महाशिवरात्रीको चटारो सबैभन्दा बढी उनैलाई लागेजस्तो देखिन्छ। तीन दिनदेखि दैनिक दुई हजारसम्म साधुसन्त र जोगीलाई सेवा पुर्याइरहेका छन् उनी।
‘मेरा गुरु नागाबाबा शिव गिरीले साधु, सन्त, जोगी, बाबा, गरिब र असहायहरूलाई नि:शुल्क भोजन गराउनू भनेर भण्डारा जिम्मा दिनुभएको थियो’, शान्त र सरल देखिने ५८ वर्षीय पशुपति बाबा (पशुपति गिरी) ले सोमबार भने, ‘बर्सौंदेखि धुवाँमा रातदिन सेवा गर्नुपर्दा फोक्सोको क्यान्सर भएको हुनसक्छ।
तर म रोग बिर्सेर काममा उत्तिकै खटिरहेको छु। यो मेरो धर्म हो।’ उनका गुरु शिव गिरीले २०३० सालमा सुरु गरेको अन्नपूर्ण भण्डाराको जिम्मा त्यसको ११ वर्षपछि पशुपति बाबाको काँधमा आइपुगेको हो।
महाशिवरात्रीमा उनको व्यस्तता जोगीहरूलाई खाना खुवाउनेमात्र होइन। पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले साधु, सन्त, जोगी र बाबाहरूलाई दानदक्षिणा दिएर बिदाइ गरेपछि पशुपति बाबा अन्नपूर्णमा बसेका साधु, सन्त सबैलाई दक्षिणकाली लैजान्छन् र तीन दिनसम्म पूजापाठ, ध्यान र जप गराएर आफ्नो गच्छेअनुसार दानदक्षिणा दिएर बिदा गर्छन्।
उनी कोष र गुठीले दिनुअघिदेखि नै साधुसन्तहरूलाई धूनीका लागि दाउरा बाँड्छन्। भण्डारा आउनेहरूले गच्छेअनुसार जे छोड्छन्, त्यसैबाट उनले सेवा गर्ने अवसर पाइरहेका छन्।
‘सबै पशुपतिनाथको कृपाले पुगिरहेछ। म त निमित्त पात्रमात्र हुँ’, भण्डाराको खर्च कसरी चल्छ भन्ने जिज्ञासामा उनले भने, ‘म आफ्ना लागि गरिरहेको छैन। समाजका लागि सेवक बनेको हुँ। परिस्थितिका कारण कोही गरिब वा असहाय हुन्छ भने तिनलाई सेवा गर्न पाउनुजति ठूलो धर्म अरू छैन भनेर शिव गुरुले सिकाउनुभएको थियो।’
२०३० सालमा नागाबाबा शिव गिरीले झुपडीबाट सुरु गरेको अन्नपूर्ण भण्डारा अहिले तीनतले भवनमा चलिरहेको छ। पशुपतिनाथ प्रवेश गर्ने पश्चिम द्वारअगाडि यो भण्डारा छ। थुप्रैको गलहत्ती र गालीगलौज सहँदै निरन्तर सेवामा रहेका पशुपति बाबा पाँच महिनाअघि छातीमा पीडा भएर चाबहिलस्थित ओम नर्सिङ होम पुग्दा उनलाई फोक्सोमा क्यान्सर भएको थाहा भएको थियो।
सत्संग र सत्कर्मले सबै पाएजस्तो लाग्ने उल्लेख गर्दै उनले भने, ‘कोष र पदाधिकारीहरूले प्रेम र सद्भाव दिएका छन्। त्योभन्दा अरू आवश्यक छैन। सबैको शुभेच्छाले रोग पचाएझैं लागेको छ।’ पशुपति बाबा जुना अखडाका नागाबाबा हुन्। तर उनी पशुपतिभित्र भारतबाट आएका नागाबाबाझैं बस्दैनन्। उनी प्रत्येक वर्ष मुख्य धुनी भने लगाउने गर्छन्।
पशुपति बाबाले भने, ‘म भोकालाई खाना, नांगालाई कपडा र अशिक्षितलाई शिक्षासमेत दिएर पठाउँछु। शिव गुरुले दिएको उपदेश र दीक्षा यही हो।’उनलाई लागेको छ- कोषले पशुपतिनाथ आउनेहरूका लागि ठूलो धर्मशाला बनाइदेओस्, जहाँ सामान राख्ने लकर र नुहाउने ठाउँहरू हुन्। ठाउँठाउँमा सुविधायुक्त शौचालय बनाइदेओस्।
३० वर्षदेखि तीनवटा गाई पालेका उनले भने, ‘मलाई पनि साधुसन्तहरूका लागि ठूलो आश्रम बनाउने मन छ। नजिकै ठूलो गौशाला बनाएर पाशुपत क्षेत्रका सबै मठमन्दिरमा नि:शुल्क दूध वितरण गर्ने मन छ।’