जनबोली/४ फागुन, काठमाडौं । महिला राष्ट्रिय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले क्षेत्र नम्बर ६ बैतडीलाई २ विकेटले पराजित गरेको छ ।

जितसँगै एपीएफ समूह चरणको सबै खेल जित्दै समूह एको विजेता बनेको छ । हारका अतिरिक्त बैतडी समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

कीर्तिपुरमा पहिले ब्याटिङ गरेको बैतडीले ३५.५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । उसका लागि कविता कुँवरले १८ रन बनाइन् भने सम्झना खड्का र द्रोपती कुँवरले समान ११ रन बनाइन् ।

एपीएफकी बिना बुढामगरले २ विकेट लिए भने रीता कनोजिया, रुविना क्षेत्री, सीता राना मगर र सरिता मगरले समान १-१ विकेट लिइन् ।

जवाफमा एपीएफले २६.२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टयो । उसका लागि सीता राना मगरले ३८ रन बनाइन् भने ज्योति पाण्डेले २० रन जोडिन् ।

बैतडीकी रेखा रावलले चार र अञ्जली चन्दले चार विकेट लिइन् ।

जनकपुर १० विकेटले विजयी 

लगातार तेस्रो जित हात पर्ने क्रममा क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ९ धनगढीलाई १० विकेटले पराजित गर्‍यो ।

धनगढीले प्रस्तुत गरेको ७१ रनको लक्ष्य जनकपुरले ११.२ ओभरमा विकेट नगुमाई भेट्टयो । उसका लागि ओपनर अनुराधा चौधरीले अविजित २९ र शोभा ओलेले अविजित २७ रन जोडिन् । १५ अतिरिक्त रन जोडेको थियो ।

यसअघि पुल्चोकमा पहिले ब्याटिङ गरेको धनगढीले ३१ ओभरमा सबै विकेट गुमाएर ७० रन बनायो । उसका लागि विमला भट्टले १५ र कविता जोशीले १२ रन बनाए पनि अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।

एपीएफकी सरस्वती चौधरीले ५ विकेट लिइन् भने सन्तोषी चौधरी र शान्ति चौधरीले समान २-२ विकेट लिइन् ।

सम्बन्धित खबरहरु